वैदेशिक रोजगारी व्यवस्थित र मर्यादित बनाउने प्रयासलाई निरन्तरता दिन्छु : मन्त्री भण्डारी

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले पदभार ग्रहण गरेका छन् ।

राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । उनी यसअघिको सरकारमा पनि विसं २०७९ चैत १२ गते श्रममन्त्री नियुक्त भएका थिए ।

विभिन्न समयमा मन्त्री बन्दै आएका उनी १३ औँ पटक मन्त्री बनेका हुन् । पदभार ग्रहणका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अघिल्लो कार्यकालमा वैदेशिक रोजगारका क्षेत्रमा थालेका सुधारका अभियानलाई निरन्तरता दिने बताए ।

‘वैदेशिक रोजगारीलाई व्यवस्थित, मर्यादित बनाउन र यस क्षेत्रका विकृति-विसङ्गति हटाउन मैले अघिल्लो कार्यकालमा सुरू गरेका नीतिगत प्रयासहरूलाई निरन्तरता दिनेछु,’ उनले भने ।

मन्त्री भण्डारीले देशभित्र रोजगारको सुनिश्चिता गर्दै वैदेशिक रोजगारको बाध्यता अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले प्रत्येक पालिकाअन्तर्गतका रोजगार सेवा केन्द्रलाई ‘रोजगार हब’ बनाउनमा जोड दिने उल्लेख गरे ।

‘अहिले जुन स्थितिमा यो सरकार आएको छ, चुनौतीहरू छन् । यस अवस्थामा हामीले कुनै किसिमका नाटक र स्टन्ट गर्ने छुट छैन,’ उनले भने, ‘हामीले इमान्दारिता र अध्ययन नगरी प्रतिफल दिन नसक्ने काम गर्‍याैँ भने त्यो हाम्रो असफलता हुन्छ ।’

मन्त्री भण्डारीको राजनीतिक यात्रा
उनी महोत्तरी-२ बाट प्रतिनिधिसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका हुन् ।

भण्डारीले विसं २०३२ मा नेपाल विद्यार्थी सङ्घमा आबद्ध भई विद्यार्थी राजनीति सुरू गरेका हुन् । २०३६ सालमा नेपाली कांग्रेसको पार्टी राजनीतिमा प्रवेश गरेका उनी बहुदलीय व्यवस्थापछि पञ्चायती राजनीतिसँग नजिक भए ।

भण्डारी विसं २०५१ पछि पुनः कांग्रेसको राजनीतिमा सक्रिय भएका हुन् । विसं २०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित हुँदै उनको संसदीय यात्रा सुरू भएको थियो । विसं २०४४ मा पहिलोप टक स्थानीय विकास सहायकमन्त्री बनेका थिए । मधेस आन्दोलनपछि उनी मधेसी जनाधिकार फोरममा आबद्ध भए । त्यसपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलको सदस्यको जिम्मेवारीमासमेत् रहे ।

२०५१ सालमा स्वतन्त्र र २०५६ मा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भण्डारी २०६४ सालको संविधानसभामा महोत्तरी-४ बाट मधेसी जनाधिकार फोरमका तर्फबाट निर्वाचित भएका थिए । उनी विसं २०३८ मा सुधारिएको पञ्चायती व्यवस्थामा भएको प्रत्यक्ष निर्वाचनमा निर्वाचित भएका थिए । त्यसयता उनी पटकपटक निर्वाचित हुँदै मन्त्री नियुक्त भएका छन् ।

नेविसङ्घको राजनीति गर्ने क्रममा राजकाजसम्बन्धी मुद्दा लागेपछि उनी २०३४ सालमा तीन महिना भारत निर्वासनमा बसेका थिए । २०५१ सालमा स्वतन्त्र सांसदका रूपमा निर्वाचित भण्डारीले २०५२ सालमा बिनाविभागीय राज्यमन्त्रीको जिम्मेवारी प्राप्त गरेका थिए ।

उनले विसं २०७० मा राष्ट्रिय मधेस समाजवादी पार्टी गठन गरे ।सोही वर्ष उनी संविधानसभा निर्वाचनमा पराजित भएका थिए । उनी २०७४ साल र २०७९ मा प्रतिनिधिसभा सदस्य निर्वाचित भए । मन्त्री भण्डारीले गोरखा दक्षिण बाहु र संविधानसभा पदक प्राप्त गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *