देश आर्थिक संकटको डिलबाट धेरै बाहिर आइसक्यो : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले देश अब आर्थिक संकटको डिलबाट धेरै बाहिर आइसकेको बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत माग्दै उनले अर्थतन्त्रमा देखिएको शिथिलता पनि कायम नरहने जिकिर गरे ।

उनले सरकारको नेतृत्व लिने बेला रहेको देशको अर्थतन्त्रको अवस्था अहिले धेरै फरक भइसकेको बताए ।

‘हाम्रा सबैजसो आर्थिक सूचकहरू सकारात्मक हुँदै गएका छन् । त्यसैले हाम्रो अर्थतन्त्रमा देखिएको शिथिलता पनि कायम रहने छैन,’ प्रधानमन्त्री दाहालले भने, ‘बजेट निर्माण प्रक्रियालाई समावेशी, वैज्ञानिक र वस्तुपरक बनाउन मैले निकै प्रयास गरेँ । डेढ वर्षको अवधिमा प्राप्त यो आर्थिक उपलब्धि सानो होइन । म ढुक्कले भन्न सक्छु, देश अब आर्थिक संकटको डिलबाट धेरै बाहिर आइसकेको छ ।’

उनले अर्थतन्त्रमा देखापरेको तरलता संकुचन, उच्च ब्याजदर, विदेशी मुद्राको सञ्चितिमा परेको चाप, पुँजीबजारमा आएको गिरावट र मौद्रिक तथा वित्तीय क्षेत्रलगायतमा रहेका समस्यालाई नीतिगत तथा कार्यान्वयन तहबाट उचित सम्बोधन गरिएकाले समष्टिगत आर्थिक परिसूचकहरू क्रमशः सकारात्मक हुँदै गएको बताए ।

उनले गत वर्ष आर्थिक वृद्धिदर १.९५ प्रतिशत रहेकामा यस वर्ष करिब दोब्बर ३.८७ प्रतिशत हुने अनुमान रहेको आगामी आर्थिक वर्षमा ६ प्रतिशतको लक्ष्य रहेको बताए । बैंकको ब्याजदर पनि क्रमशः कम हुँदै गएको र वित्तीय पहुँचमा वृद्धि भएको उनले बताए ।

प्रधानमन्त्री दाहालले पर्यटन क्षेत्रमा उल्लेख्य सुधार भएको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *