१ लाखसम्म लिएर नक्कली लाइसेन्स, यातायातका तत्कालीन प्रमुखसहित १५ विरूद्ध मुद्दा

माेटाे रकम लिएर नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरेकाे आरोपमा १५ जनाविरूद्ध मुद्दा दर्ता भएको छ । यातायात व्यवस्था कार्यालय, बुटवलका तत्कालीन प्रमुख केशव अर्यालसहित १५ जनाविरूद्ध लिखतसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले सोमबार काठमाडौं जिल्ला अदालतमा उनीहरूविरूद्ध मुद्दा दायर गरेको हो ।

नक्कली लाइसेन्स जारी हुने गरेकाे सूचनापछि यातायात व्यवस्था विभाग, मीनभवनले आन्तरिक छानबिन गरी थप अनुसन्धानका लागि सीआईबीलाई पत्राचार गरेको थियो । पत्रपछि सीआईबीले  गरेको अनुसन्धानमा  गिराेहले  सवारी चालकहरूलाई झुक्यानमा पारी नक्कली लाइसेन्स जारी गर्ने गरेको खुलेको थियो ।

विभागले अहिले केन्द्रीय सवारी चालक अनुमतिपत्र प्रणाली (ईडीएल) को सञ्चालन र व्यवस्थापन गर्दै आएको छ । यो प्रणालीमा परीक्षार्थीको व्यक्तिगत अभिलेख, परीक्षासम्बन्धी अभिलेख र सवारी चालक अनुमतिपत्र छपाइसम्बन्धी विवरण राखिने छ ।

यो प्रणाली आउनुभन्दा अगाडि ड्राइभिङ लाइसेन्स (डएिल) र त्यसभन्दा अगाडि ढड्डामा विवरण राखेर सवारी चालक अनुमतिपत्र दिने गरिएको थियो । डएिल प्रणालीमा भएको विवरण ईडएिल प्रणालीमा स्थानान्तरण गर्ने काम जारी छ ।

स्थानान्तरण गर्ने क्रममा कार्यालयका कर्मचारीहरूसमेतको मिलेमतोमा फर्जी विवरण हालेर गैरकानुनी तरिकाले सवारी चालक अनुमतिपत्र वितरण गर्ने गरेको खुलेको थियो । त्यसपछि विभागले आन्तरिक छानबिन गरी सीआईबीलाई पत्राचार गरेको थियो । कर्मचारीहरूको युजर आईडीबाट फर्जी विवरण प्रणालीमा प्रविष्ट गरी नक्कली अभिलेख खडा गरेर लाइसेन्स जारी भएको पाइएको विभागले जनाएको छ । यस कसुरमा हाल ६ जना प्रहरी हिरासतमा र बाँकी फरार छन् ।

कम्प्युटर अपरेटर पदमराज आचार्य, अधिकृत सुवास पौडेल, राजेश लम्साल, कम्प्युटर अपरेटर दिलीपकुमार साह र केशव पौडेल सीआईबीको हिरासतमा छन् । यस्तै विजय चौधरी जिल्ला कारागार, झापामा थुनामा छन् ।

लक्ष्मण पाण्डे, रामकृष्ण श्रेष्ठ, विनोद भण्डारी, ज्ञानराज पाण्डे, नारायणप्रसाद पाण्डे, विवेक भण्डारी, प्रवीण भन्ने फानेश्वर सापकोटा र सन्दीप श्रेष्ठलाई फरार प्रतिवादी बनाएर मुद्दा दायर भएको हो ।

सीआईबीले नक्कली लाइसेन्स दिलाउन भन्दै रकम बुझाएका व्यक्तिहरूसँग पनि कागज गरेको छ । कतिपय व्यक्तिहरूले लाइसेन्स निकालिदिने भनेपछि एक लाख रूपैयाँसम्म बुझाएको खुलेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *