कांग्रेस-एमालेलाई साथ दिएर अघि बढ्दा नै प्रधानमन्त्री दाहालको हित हुन्छ : योगेश भट्टराई

नेकपा (एमाले) का सचिव एवं पूर्वमन्त्री योगेशकुमार भट्टराईले कांग्रेस-एमाले सत्ता सहकार्यलाई साथ दिँदा नै प्रधानमन्त्री पुष्पकमल दाहालको हित हुने बताएका छन् ।

शान्ति प्रक्रियालाई सही निष्कर्षमा पुर्‍याउन, संविधानलाई गतिशील बनाउन, मुलुकलाई सही दिशामा अघि बढाउन र स्वयं आफ्नै हितका लागि पनि प्रधानमन्त्री दाहालले दुई ठूला दलबीचको सहकार्यलाई साथ दिएर अघि बढ्नुको विकल्प नरहेको उनको जिकिर थियो ।

सोमबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सचिव भट्टराईले माओवादी केन्द्रलाई साथमा लिएर आफूहरूले सर्वसम्मतिको बाटोबाट संविधान संशोधन कार्य अघि बढाउने पनि बताए । उनले कांग्रेस-एमालेबीचको सहकार्यबिना संविधान संशोधनको काम सहज नहुने भएकाले पनि संविधानलाई सही ढंगले अघि बढाउन माओवादी केन्द्रले पनि संविधान संशोधनका बाटोमा आफूहरूलाई साथ दिने तर्क गरे ।

सचिव भट्टराईले नयाँ सत्ता समीकरणसँग टाढिएर प्रधानमन्त्री दाहालले अन्यत्रैबाट अघि बढ्ने बाटो नभएको दाबी गरे । उनले प्रधानमन्त्री दाहाल अहिले रिसाएको अवस्थामा रहेकाले आफूहरूले जिस्क्याउन नचाहेको पनि बताए ।

‘एउटा मुख्य नेता हुनुको नाताले उहाँलाई ३२ सिटको पार्टीको नेता हुँदाहुँदै पनि कांग्रेसले पनि, हामीले पनि प्रधानमन्त्री स्विकारेको उहाँको व्यक्तित्वले हो । माओवादीको आजको संख्याले होइन,’ सचिव भट्टराईले भने, ‘त्यसैले उहाँजस्तो एउटा व्यक्ति, जसले यो समग्र प्रक्रियामा भाग लिँदै आउनुभएको छ, नेतृत्व गर्दै आउनुभएको छ, उहाँ उत्तेजनामा, आक्रोशमा आएर गलत बाटो लिनुहुन्छ भन्ने हामीलाई लाग्दैन । अब गलत बाटोमा गएर पनि कुनै उपाय छैन । कुनै निष्कर्ष निक्लिदैन । कुनै निष्कर्ष उहाँले दिन सक्नुहुन्न । त्यसैले यो सम्पूर्ण प्रक्रियामा कांग्रेस र एमालेले चालेको प्रक्रियामा सँगै बसेर हिँड्दा नै उहाँको कल्याण छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर