जयपृथ्वी राजमार्ग पुनः अवरूद्ध, लगातारको वर्षाले पहिरो पन्छाउन समस्या

अविरल वर्षापछि खसेको पहिरोका कारण खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग पुनः अवरूद्ध भएको छ । अविरल वर्षासँगै आएको पहिरोका कारण गएरातिदेखि राजमार्ग अवरूद्ध भएको हो ।

जिल्लाको पाटन नगरपालिका–८, साणीघाटीमा पहिरो खस्दा राजमार्ग अवरूद्ध बनेको बैतडीका प्रहरी प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए । सडक अवरूद्ध हुँदा राजमार्गमा सञ्चालन हुने सवारी आवागमन पूर्ण रुपमा रोकिएको छ भने यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

अवरूद्ध राजमार्ग खुलाउन पहल भइरहेको बताउँदै प्रनि पाण्डेयले निरन्तरको वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको जानकारी दिए । यसअघि असार २३ गते बिहान पनि सोही स्थानमा पहिरो खस्दा राजमार्ग बन्द भएको थियो । यही असार २२ गते सिगास गाउँपालिका–९ को आलुगैरामा पहिरो खस्दा अवरूद्ध बनेको जयपृथ्वी राजमार्ग गएरातिदेखि सञ्चालन भएको थियो ।

बिहीबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ । लगातार वर्षा भइरहेकाले आवश्यक सावधानी अपनाउन प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले आग्रह गरेका छन् । ‘अत्यावश्यक काम बाहेक यात्रा नगर्न सर्वसाधारणमा आग्रह गर्दछौँ,’ उनले भने, ‘सुरक्षामा खटिनुभएका सबैले सावधानी अपनाएर उद्धारमा जुट्नुपर्ने अवस्था आएकाले सोहीअनुसार काम गर्न अनुरोध गर्दछौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर