३८ राजमार्गमा पहिरो : २१ मा यातायात ठप्प

अविरल वर्षासँगैको बाढीपहिरोले ३८ मुख्य र सहायक राजमार्ग अवरुद्ध भएका छन् । तीमध्ये २१ वटा पूर्ण रूपमा ठप्प छन् भने १७ सडक, राजमार्ग एकतर्फी चलिरहेका छन् ।

नेपाल प्रहरीको तथ्यांकअनुसार काठमाडौं उपत्यकामा एउटा, कोशीमा तीन, बागमतीमा  दुई, गण्डकीमा चार, लुम्बिनीमा  आठ, कर्णालीमा चार र सुदूरपश्चिममा एउटा सडक पूर्ण रूपमा अवरुद्ध छ ।  बागमतीका पाँच, गण्डकीका चार, लुम्बिनीका ६, तथा कर्णाली र सुदूरपश्चिमका एक–एक सडक एकतर्फी चलिरहेका छन् ।

अविरल वर्षासँगै मुख्य राजमार्गमा पहिरो खस्दा कर्णाली प्रदेशका १० मध्ये सात जिल्लाको यातायात ठप्प भएको छ । कर्णाली राजमार्गमा ११, मध्यपहाडीमा १०, राप्ती राजमार्गमा नौ, कर्णाली करिडोरमा १३ र भेरी करिडोरमा १७ ठाउँमा पहिरो खस्दा कर्णाली प्रदेशका मुगु, जुम्ला, हुम्ला, कालीकोट (सदरमुकाम), डोल्पा, सल्यान र रुकुम पश्चिम जोडने सडक अवरुद्ध बनेका छन् ।

कर्णाली राजमार्ग, कर्णाली करिडोर, भेरी करिडोर, मदन भण्डारी राजमार्ग, राप्ती राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । कर्णालीका सुर्खेत, जाजरकोट र  दैलेखमा मात्र सवारीसाधन नियमित छ, तर वर्षाका कारण जाजरकोट र दैलेख जिल्ला जोड्ने सडक पनि वेला–वेला अवरुद्ध हुने गरेका छन् । कर्णालीका विभिन्न राजमार्गमा मात्रै झन्डै दुई सय सवारीसाधनबीच बाटोमै रोकिएको प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी अर्जुनबहादुर चन्दले बताए ।

कर्णाली राजमार्ग दुई दिनदेखि अवरुद्ध छ । कालिकोटको शुभकालिका–१ गगने खोलामा पहिरो खस्दा अवरुद्ध सडक अझै सुचारु हुन सकेको छैन । वर्षाका कारण पहिरो खस्ने क्रम जारी रहेकाले पन्छाउन नसकिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरबहादुर वलीले बताए । यात्रुलाई गन्तव्यसम्म पुर्‍याउन पहिरो नजिक एउटा गाडीले लैजाने र अवरुद्ध भाग हिँडाएर पार गराएपछि फेरि अर्को गाडीमा राखेर लैजाने गरिएको उनको भनाइ छ ।

त्यस्तै, कर्णाली करिडोरअन्तर्गत कालिकोटको रास्कोट नगरपालिका–८ मा आइतबार पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भेरी करिडोरअन्र्तगत डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ छलागार्ड र रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजिगार्ड खोलामा पानीको सतह बढ्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । १८ असारदेखि अवरुद्ध भेरी करिडोरमा पानीको सतह नघट्दासम्म यातायातका साधन सञ्चालन हुन नसक्ने प्रवक्ता वलीको भनाइ छ । राप्ती राजमार्गसमेत अवरुद्ध भएको छ । राप्ती राजमार्गअन्तर्गत सल्यानको शारदा नगरपालिका–७ रामेखोलानजिकै पहिरो आउँदा सडक अवरुद्ध बनेको छ । पहिरो हटाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

खहरेखोला बढ्दा मदन भण्डारी राजमार्ग अवरुद्ध भएको छ । 
सुर्खेतको लेकबेँसी–१ र गुर्भाकोट नगरपालिका– १४ बीचको खहरे खोलामा बाढी आउँदा मदन भण्डारी राजमार्ग अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । अविरल वर्षापछि आएको पहिरोले सिमकोट–हिल्सा सडक पनि अवरुद्ध बनेको छ । हुम्लाको नाम्खा गाउँपालिका– ५ नारालेखमा पहिरो गएको प्रहरीको भनाइ छ । यस्तै, कर्णाली करिडोरअन्तर्गत हुम्लाको सर्केगार्ड– ४ कालामुडामा पहिरो गएको छ ।

मंगलबारदेखि कर्णालीका हिमाली जिल्लाको हवाई सेवा पनि ठप्प छ । मुगुस्थित रारा, जुम्ला, डोल्पाको जुफाल र हुम्लाको सिमकोट विमानस्थलमा मौसममा खराबी आएपछि उडान हुन नसकेको हो । हुम्ला र मुगुको हवाईसेवा १८ असारदेखि ठप्प छ भने हुम्लामा पनि बुधबारदेखि हवाई सेवा अवरुद्ध भएको छ ।

 सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने सडक एकतर्फी
सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्ने केआइसिंह राजमार्गमा पहिरो खसेको छ । डडेल्धुराको रडुवा खोलामा पहिरो खस्दा सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ । आइतबार बिहान गएको पहिरो पन्छाएर एकतर्फी यातायात सुचारु गरिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक राजीवबहादुर बस्नेतले जनाए ।

बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग दुई दिनदेखि अवरुद्ध छ । राजमार्गअन्तर्गत जयपृथ्वी नगरपालिकाको तमेल र बैतडीको पानीघाँटीमा दुई दिनअघि पहिरो खसेकामा आइतबार फेरि जालेबगरमा पहिरो खसेको छ ।  बाजुराको अम्कोटमा पहिरो गएपछि शनिबार अवरुद्ध भएको अछाम र बाजुरा जोड्ने साँफे–मार्तडी सडक आइतबार दिउँसो सञ्चालनमा आएको छ । यस सडक खण्डअन्तर्गत साँफेबगर नगरपालिकाको बुढाबगरमा आइतबार गएको पहिरो पनि पन्छाइएको ट्राफिक प्रहरीले जनाएको छ । पहिरोका कारण मार्तडी–कोल्टी सडक भने सातादेखि अवरुद्ध छ ।

आलिताल गाउँपालिकाको सुनखोलामा पहिरो गएपछि बुडर–जोगबुढा सडक खण्ड अवरुद्ध छ । बैतडी–दार्चुला जोड्ने राजमार्ग आइतबार अवरुद्ध भएको थियो । दार्चुलाको शैल्यशिखर नगरपालिकाको पनेबाजमा गएको पहिरो हटाएपछि राजमार्ग सुचारु भएको प्रहरीले जनाएको छ । ठाउँठाउँमा पहिरो गएर राजमार्ग अवरुद्ध बनेपछि यात्रामा निस्केका सयौँ नागरिक प्रभावित बनेका छन् । पहिरोका कारण मालबाहक सवारीसाधनलाई ढुवानीमा समस्या भएको छ ।

कालीगण्डकी करिडोर नवलपरासी पूर्वका दुई स्थानमा सडक अवरुद्ध भएको छ । गैँडाकोट नगरपालिका– ३ को तरङे खोला र बुलिङटार गाउँपालिका– १ को मोचडाँडामा पहिरो खसेर सडक अवरुद्ध भएको छ । तरङे खोलामा हालेको ह्युम पाइप बगाउँदा तीन दिनदेखि सडक अवरुद्ध भएको र खोलामा पानीको बहाव नघटेको कारण सडक सञ्चालनमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए ।कालीगण्डकी करिडोरकै मोचडाँडामा आइतबार दिउँसो पहिरो खसेको हो । सोमबार पहिरो पन्छाउन सुरु गरिने पौडेलले बताए । हुप्सेकोट गाउँपालिका–५ पांग्रेमा रुद्रपुर–धौबादी भित्री सडक खण्ड तीन दिनदेखि अवरुद्ध छ ।

कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग अवरुद्ध
पहिरोले कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध बनेका छन् । बागलुङ प्रहरीका डिसपी विजय यादवका अनुसार करिडोरको बागलुङ नगरपालिका—१० भकुन्डे–दब्ल्याङको सडक पहिरोले बगाएको छ भने जैमिनी नगरपालिका–१ को जैमिनीघाटनजिकै पनि सडक अवरुद्ध छ ।  जैमिनी नगरपालिका—८ मा रहेको रादीखोला र  ५ मा पर्ने विनामारेमा पनि पहिरो खसेको छ । पहिरोले मध्यपहाडी लोकमार्ग बागलुङ खण्डको गलकोट नगरपालिका–११ रिघामा सडक अवरुद्ध भएको छ । दब्ल्याङमा गएको पहिरोले मालढुंगा–बलेवा–कुस्मिसेरा–बरेङ सडक खण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

कोशी राजमार्ग १९ दिनदेखि अवरुद्ध
कोशी राजमार्गअन्तर्गत संखुवासभा सदरमुकाम खाँदबारीबाट किमाथांका जोड्ने सडक १९ दिनदेखि अवरुद्ध छ । ५ असारमा आएको अविरल वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो । वर्षाले मकालुमा निर्माणाधीन जोगबनी–किमाथांका जोड्ने कोशी राजमार्गको थाक्रामस्थित एकुवा खोलाको पक्की पुलमा क्षति पुगेका कारण राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

यस्तै, पहिरोले भोटखोला गाउँपालिकाको विभिन्न ठाउँमा क्षति पुर्‍याएको छ । ‘पुल पूर्ण रूपमा क्षति छ । नयाँ बनाउनुपर्छ । तत्काल बन्ने अवस्था छैन,’ उनले भने, ‘निर्माण सामग्री पनि लैजान सक्ने अवस्था छैन ।’ सडक अवरुद्ध हुँदा भोटखोला गाउँपालिका सडक सञ्जालबाट पूर्ण रूपमा विच्छेद भएको छ । त्यहाँ पुग्न कुनै वैकल्पिक सडक नरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जनकारी दिए । उनका अनुसार सडक क्षति हुँदा भोटखोला गाउँपालिकाका करिब १५ हजार नागरिक सडक सञ्जालसँग जोडिन सकेका छैनन् ।

जनताको जिउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔँ
विपत् व्यवस्थापनका लागि व्यवस्थित तयारी गरिएको छ । उच्च सतर्कता अपनाउन सम्पूर्ण रूपले मिहिनेत गरेका छौँ । यस वर्ष विपत्बाट ठूलो क्षति हुन सक्ने अनुमान गरिएको छ, सोहीअनुसार रोकथाम र क्षति न्यूनीकरणका लागि राम्रो तयारी छ, जनताको जिउधनको रक्षाका निम्ति सम्पूर्ण तागत लगाऔँ । वर्षा जारी छ, अझै क्षति हुन सक्छ । सडक अवरुद्ध हुन सक्छन् । त्यसैले उद्धार एवं राहतका काममा सक्रियतापूर्वक लागौँ ।

आजदेखि भीषण वर्षा थामिने प्रक्षेपण सामान्य वर्षा कायमै रहने
शुक्रबारदेखिको भीषण वर्षा सोमबार थामिने भएको छ । वर्षा भने कायमै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ‘तीन दिनजस्तो धेरै र अति भारी वर्षा हुँदैन । तर, हल्कादेखि मध्यम वर्षा देशभर नै हुन्छ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले भने, ‘सोमबार मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।’

महाशाखाका अनुसार न्यूनचापीय रेखा सोमबारदेखि क्रमिक रूपमा दक्षिणतिर सर्दै जाने भएकाले नेपालमा मनसुनको सक्रियतामा कमी आउने देखिएको हो । जसकारण शुक्रबार, शनिबार र आइतबारजस्तो भीषण वर्षा भने केही दिन नहुने जनाइएको छ । यो समाचार नयाँपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर