प्रधानमन्त्री दाहालले अविलम्व राजीनामा दिनुपर्छ : एमाले

नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिन दबाब दिएको छ। आइतबार संघीय संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकले स्पष्ट रुपमा अल्पमतमा परेकाले आजै अविलम्व राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न प्रधानमन्त्री दाहाललाई दबाब दिएको हो।

यता, प्रधानमन्त्री दाहालले भने आगामी असार २८ गते संसदबाट विश्वासको मत लिने तयारी गरेका छन्। काँग्रेससँगको सहमतिअनुसार नयाँ सरकारको नेतृत्व लिने तयारीमा रहेको एमालेले भने दाहाल नेतृत्वको सरकार अल्पमतमा परिसकेकाले उसले तत्काल सरकार छोडी नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन विलम्व गर्न नहुने निष्कर्ष निकालेको हो।

प्रधानमन्त्रीले राजीनामा नदिई विश्वासको मत लिए एमालेले त्यसको विपक्षमा मतदान गर्ने निर्णय पनि गरेको पार्टी संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

बैठकले नयाँ सरकार गठनका लागि काँग्रेससँग गरिएको समझदारीको स्वागत गर्दै मुलुकलाई राजनीतिक स्थिरता दिने, सुशासन, समृद्धि र विकासको कामलाई तीब्रता दिने काममा सहयोग गरेको निस्कर्ष निकाल्दै नेपाली काँग्रेसलाई पनि धन्यवाद दिएको छ।

प्रमुख सचेतक बर्तौलाले भने,‘काँग्रेससँगको समझदारीलाई संसदीय दलले स्वागत गरेको छ। यो सरकारलाई दिएको समर्थन नेकपा एमालेलगायतका विभिन्न राजनीतिक दलहरुले दिएको समर्थन फिर्ता गरिसकेपछि यो सरकार स्पष्ट अल्ममतमा परेको छ। यस्तो अवस्थामा सरकारले अझै पनि राजीनामा दिएको अवस्था रहेन। त्यसकारण आजको एमालेको संसदीय दलको बैठकबाट अझै पनि राजीनामा नदिई बस्ने कुरा अनुचित कार्य हो। त्यसकारण अविलम्व नेपाल सरकारका प्रधानमन्त्रीलाई काम चलाउ प्रधानमनत्तीको रुपमा रहेको प्रधानमन्त्रीलाई अविलम्व राजीनामा दिएर राष्ट्रिय सरकार निर्माणको प्रक्रियालाई मार्गप्रशस्त गर्नका लागि हाम्रो बैठकले त्यो अनुरोध गरेको छ।’

त्यसैगरी एमालेले कामचलाउ अवस्थामा पुगेकाले सरकारलाई कुनैपनि निर्णय नगर्न पनि सचेत गराइएको प्रमुख सचेतक बर्तौलाले बताए।पार्टीका सांसद आस्मा चौधरीकी पति लौटन चौधरीको निधनप्रति दुःख व्यक्त गर्दै त्यसमा देखिएको आशंका निवारण हुनेगरी छानविन गर्न पनि नेपाल प्रहरीलाई अनुरोध गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर