बाढीका कारण विद्युत उत्पादनमा समस्या

अविरल वर्षाका कारण देशभरका विद्युत उत्पादन गृहहरू प्रभावित भएका छन् । कतिपय स्थानमा विद्युत आपूर्तिमा अवरोध भएको छ ।

नेपाल विद्युत प्राधिकरणका अनुसार शुक्रबार साँझदेखिको वर्षाका कारण झण्डै ५३० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत गृह बन्द भएका छन् । निजी क्षेत्रका आयोजनासमेत जोड्दा झण्डै ६४० मेगावाट बिजुली उत्पादन गर्ने विद्युत गृह बन्द भएका छन् ।

प्राधिकरणको सहायक कम्पनी अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेडले सञ्चालन गर्ने ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी बाढीका कारण हिजो साँझदेखि बन्द छ ।

यस्तै ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ‘ए’, १० मेगावाट क्षमताको सुनकोशी जलविद्युत आयोजनासमेत बन्द भएको छ । प्राधिकरण र यसका सहायक कम्पनीले सञ्चालन गर्ने आयोजना बन्द भएका हुन् ।

प्राधिकरणको भार प्रेषण केन्द्रले उपलब्ध गराएको विवरणअनुसार ३६ मेगावाट क्षमताको बलेफी, २० मेगावाट क्षमताको तल्लो मोदी, १८ मेगावाट क्षमताको मध्यमोदी, ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया पनि बाढीका कारण बन्द भएको छ । नदीमा बाढी आउने क्रम कम भएपछि ती आयोजना सञ्चालनमा ल्याइने प्राधिकरणले जनाएको छ ।

केही आयोजना भने कम क्षमतामा चलेका छन् । प्राधिकरणका अनुसार सोलु दूधकोशी ५० मेगावाट, लिखु एक ४७ मेगावाट, लिखु दुई २९ मेगावाट, मध्य तमोर ३८ मेगावाट, मोदी ७ मेगावाट, त्रिशूली ६ मेगावाट, देवीघाट जलविद्युत केन्द्र ५ मेगावाट र चमेलियाबाट १४ मेगावाटमात्रै विद्युत उत्पादन भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर