एमालेसँग विद्रोहको औचित्य पुष्टि भएन भन्नेको प्रतिवाद गर्न अध्यक्ष नेपालको निर्देशन
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले (एमाले) सँगको विद्रोहको औचित्य पुष्टि भएन भन्नेहरूसँग प्रतिवाद गर्न पार्टीको नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।
पार्टी निकट प्रवासी नेपाली एकता मञ्चले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेसँगको विद्रोहको औचित्य पुष्टि भएन भन्नेहरूको कुरा नसुन्न पनि सिंगो पार्टी पंक्तिलाई आग्रह गरे ।
अध्यक्ष नेपालले एमालेसँगको विद्रोहको औचित्य पुष्टि भएकाले त्यस्ता कुरा पार्टीका नेता, कार्यकर्ताहरूले सुन्न आवश्यक नरहेको जिकिर गरे । एमालेसँग विद्रोह नगरेको भए दासको रूपमा बस्नुपर्ने अवस्था आउने थियो भन्दै अध्यक्ष नेपालले त्यसबाट आफूहरूले कम्युनिष्ट आन्दोलनको र आफूहरूको भविष्य सुनिश्चित गरेको दाबी गरे ।
‘अहिले एउटा कुरा म सुन्ने गर्दछु, यो तीनवटा शब्द तपाईँहरू कसैले नसुन्नुस् । कान बन्द गरिदिए हुन्छ । पहिलो कुरा, विद्रोहको औचित्य पुष्टि भएन । यो वाइयात कुरा सन्दै नसुन्नुस । तुरून्त खण्डन गर्नुस् । प्रत्येक घटनाक्रमले हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ,’ अध्यक्ष नेपालले भने, ‘अहिले पनि भइराखेको छ । दिनदिनै भइराखेको छ । विद्रोह गर्नु जायज थियो । विद्रोह नगरेको भए नेपालको कम्युनिष्ट आन्दोलनको रक्षाको निम्ति दृढतापूर्वक उभिने योद्धाहरू हराएर जाने थिए । दास भएर बस्नुपर्दथ्यो । समर्पण गरेर बस्नुपर्दथ्यो । हामी सबैको भविष्य खतम भइसकेको हुने थियो ।’
अध्यक्ष नेपालले एमालेभित्र अहिले पनि केही नेताहरूको बिजोक अवस्था रहेको जिकिर गर्दै विद्रोह गरेर आफूहरूले देश र जनताको पक्षमा उभिने कम्युनिष्ट पार्टी बनाएको दाबी गरे ।
प्रतिक्रिया