भोटेकोशीको ढलानमा पुरिएका दुई मजदुर मृत भेटिए

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ मा निर्माणाधीन भोटेकोशी-१ जलविद्युत् आयोजनाको ढलान खसेर पुरिएका दुई मजदुरको शव फेला परेको छ । गए राति उद्धारकार्य थालिए पनि आज बिहान ४ बजे दुवै मजदुर मृत भेटिएका हुन् ।

आयोजनाको डिसेन्डर कभर स्ल्याबमा च्यापिएर ज्यान गुमाउनेमा बर्दिया नगरपालिकाका रामजिन थारु र सुमन थारू रहेका छन् । उनीहरूको शव परीक्षणका लागि काभ्रेस्थित धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । ढलानको संरचनाभन्दा तल्लो भागमा उनीहरू पुरिएकाले समयमै उद्धार गर्न नसकिएको उनले बताए ।

उक्त दुर्घटनामा ११ जना घाइते भएका थिए । गत वर्षको साउन महिनादेखि निर्माण सुरू गरिएको भोटेकोशी-१ जलविद्युतको सुरूङभन्दा माथि मजदुर काम गरिरहेको समयमा एक्कासि स्ल्याब भत्किएको थियो । एघार जनाको तत्काल उद्धार गरिएको थियो । उनीहरू सबै घाइते छन् । उनीहरूको बाह्रबिसेस्थित किस्टोन र बाह्रबिसे नगर अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई धुलिखेल लगिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर