नेकपा एसको नेतृत्व चयनका लागि आज मतदान हुँदै

नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुने भएको छ ।

एकीकृत समाजवादीको अध्यक्ष पदमा वर्तमान अध्यक्ष माधव नेपाल र महासचिव घनश्याम भुसाल दाबेदार छन् । माधव नेपालले अध्यक्ष पद नछाड्ने भएपछि झलनाथ खनाल पक्षले भुसाललाई अघि सार्न लागेको हो ।

नेतृत्व चयन सकेसम्म सहमतिमा र सहमति नभए मतदानमार्फत गर्ने तयारी गरिएको छ । महाधिवेशनको तेस्रो दिन बुधबार महाधिवेशनमा प्रस्तुत गरिएका विभिन्न दस्ताबेज अनुमोदन गरिएको थियो ।

महाधिवेशन प्रतिनिधिद्वारा राजनीतिक, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्ताबेजलाई सुझावसहित अनुमोदन गरिएको पार्टी सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

महाधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गर्ने जिम्मेवारी निर्वाचन मण्डललाई दिएको छ । निर्वाचनमण्डलले निर्वाचन प्रक्रियाअन्तर्गत मतदाता नामावली प्रकाशनको तयारी गरेको छ ।

आज मनोनयन दर्ता गर्ने, दाबी विरोध तथा उम्मेदवारी फिर्ता लिने समय, मतदानको कार्यसूची तोकिएको छ । पार्टी केन्द्रीय कमिटी, अनुशासन र लेखापरीक्षण कमिटीले संयुक्तरुपमा निर्वाचन निर्देशिका निर्माण गरेको छ ।

प्रत्येक जिल्लाबाट कम्तीमा एक जना सदस्य केन्द्रीय कमिटीमा प्रतिनिधित्व रहने सुनिश्चितता कायम गरिएको छ । सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहको आरक्षण गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

आजसम्म चल्ने महाधिवेशनले २१ पदाधिकारीसहित दुई सय ९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । निर्वाचन विद्युतीय उपकरणबाट गरिने जनाइएको छ । एक हजार आठ सय ४९ प्रतिनिधिलाई विद्युतीय उपकरणबाट मतदानका लागि आवश्यक प्रशिक्षण प्रदान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर