टीआरसी विधेयकमा सहमति जुटाउन कार्यदलले थाल्यो छलफल

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी)मा नमिलेका विषयमा सहमति खोज्न गठित कार्यदलले प्रारम्भिक छलफल सुरू गरेको छ ।

सिंहदरबारमा आज बसेको कार्यदलको पहिलो बैठकले विधेयकमा विमतिका विषयबारे सहमति जुटाउन छलफल अगाडि बढाएको कार्यदलका सदस्य महेश वर्तौलाले जानकारी दिए । बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिबारे छलफल भएको उनले बताए ।

‘विधेयकमा सहमति जुटाउने गरी छलफल सुरु गरेका छौँ । आज विशेषगरी मानवअधिकारको गम्भीर उल्लङ्घन, हत्याको परिभाषा, सशस्त्र द्वन्द्वका क्रममा भएका घटना र प्रभावित व्यक्ति तथा महान्यायाधिवक्ताले गम्भीर मानवअधिकार उल्लङ्घनका विषयमा गर्ने मागदाबीलगायत चार विषयमा सहमतिमा छलफल भएको हो । चाँडै असमतिका विषयलाई निष्कर्षमा पुर्‍याउँछौँ,’ वर्तौलाले भने ।

कार्यदल सदस्य रमेश लेखकले टीआरसी विधेयकमा सहमति जुटाउन बैठकमा सकारात्मक छलफल भएको बताए । अर्का सदस्य जनार्दन शर्माले आजको छलफल सकारात्मक ढङ्गले अगाडि बढेकाले चाँडै असहमतिबारे चाँडै टुङ्गोमा पुग्ने विश्वास व्यक्त गरे ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा नमिलेका विषयमा सहमतिका लागि केही दिनअघि सहजीकरण कार्यदल गठन गरिएको थियो । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेताको सहमतिमा कार्यदल गठन गरिएको हो । कार्यदलमा कांग्रेसबाट लेखक, एमालेबाट वर्तौला र माओवादीबाट शर्मा सदस्य छन् । कार्यदलले यसअघिको मस्यौदामा भएका असहमतिका चार बुँदामा छलफल गरी साझा धारणा बनाउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर