![Pardafas.com](https://www.pardafas.com/wp-content/uploads/2022/06/pardafas-logo.png)
शैक्षिक प्रमाणपत्र नक्कली आरोपमा भरतपुर क्यान्सर अस्पतालका असिस्टेन्टविरूद्ध मुद्दा
![clock](https://www.pardafas.com/wp-content/themes/pardafas/assets/img/clock-icon.png)
![शैक्षिक प्रमाणपत्र नक्कली आरोपमा भरतपुर क्यान्सर अस्पतालका असिस्टेन्टविरूद्ध मुद्दा](https://www.pardafas.com/wp-content/uploads/2022/08/AKHTIYAR-2079.jpg)
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका असिस्टेन्टविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
कर्मचारी सुकबहादुर तामाङले अस्पतालको प्रशासनतर्फ जुनियर असिस्टेन्ट पदमा कार्यरत रहँदा असिस्टेन्ट पदमा बढुवाका लागि पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको दाबी गर्दै अख्तियारले आइतबार उनीविरूद्ध मुद्दा हालेको हो । तामाङले काठमाडौंको रामशाहपथस्थित पद्मोदय माध्यामिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेको प्रमाणपत्र पेस गरेका थिए ।
उनको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भन्दै परेको उजुरीमाथि छानबिन गरेर अख्तियारले उनको कार्यलाई भ्रष्टाचारजन्य कसुर ठहर गरेको छ । तामाङले सोही प्रमाणपत्रका आधारमा बढुवा भएर ओहदा, लाभ र सेवासमेत प्राप्त गरेका थिए ।
उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजायको मागदाबी लिएर मुद्दा दर्ता गरिएको छ ।
प्रतिक्रिया