एसइई नतिजा झन् खस्कियो, अनुत्तीर्णमध्ये ८८.१२% विद्यार्थी सामुदायिक विद्यालयका

माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सामुदायिक विद्यालयको नतिजा दयनीय देखिएको छ । अनुत्तीर्ण हुने दुई लाख ४२ हजार ३१३ परीक्षार्थीमध्ये ८८.१२ प्रतिशत अर्थात् दुई लाख १३ हजार ५३४ विद्यार्थी सामुदायिक विद्यालयका छन् । पास हुनेमध्ये पनि तल्लो जिपिए ल्याउने विद्यार्थी सामुदायिक विद्यालयका धेरै छन् ।

सामुदायिक विद्यालयको यसपटकको नतिजा नौ वर्षअघिको भन्दा पनि कमजोर छ । ०७१ को एसएलसी (अहिलेको एसइई)मा सहभागी पाँच लाख ४१ हजार ३८९ परीक्षार्थीमध्ये तीन लाख ४९ हजार १२२ विद्यार्थी अनुत्तीर्ण भएका थिए । जसमध्ये सामुदायिक विद्यालयका विद्यार्थीको संख्या ७१.२६ प्रतिशत अर्थात् दुई लाख ४८ हजार ७८० थियो । त्यतिवेला सय पूर्णांकमा पास हुन ३२ अंक ल्याउनुपर्थ्यो ।

०७२ देखि सरकारले एसएलसीमा लेटर ग्रेडिङ प्रणाली लागू गर्‍यो । यो परीक्षा प्रणालीमा विद्यार्थीको ग्रेड छुट्टिए पनि सबै विद्यार्थी उत्तीर्ण हुन्थे । अर्थात्, कक्षा ११ मा भर्ना हुन सबै विद्यार्थी योग्य हुन्थे । तर, सरकारले यसपटक ग्रेडिङ कायमै राखे पनि पास हुन सैद्धान्तिक र प्रयोगात्मकतर्फ हरेक विषयमा ३५ प्रतिशत नम्बर ल्याउनैपर्ने व्यवस्था गरेको थियो । त्यसभन्दा कम नम्बर ल्याउने विद्यार्थी ११ मा भर्ना हुन पाउँदैनन् । नौ वर्षपछिको झन्डै उस्तै परीक्षा प्रणालीमा सामुदायिक विद्यालयको नतिजा झन् खस्किएको देखिएको छ ।

०८० को एसइई परीक्षामा देशभरका चार हजार १४१ संस्थागत र ६ हजार ६६५ सामुदायिक विद्यालयका चार लाख ६४ हजार ७८५ विद्यार्थी सहभागी थिए । अनुत्तीर्ण हुनेमध्ये २८ हजार ७७९ परीक्षार्थी निजी विद्यालयका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार सबैभन्दा तल्लो जिपिए १.६ देखि २.० सम्म ल्याउने विद्यार्थी संख्यामध्ये पाँचजना सामुदायिक र एकजना संस्थागत विद्यालयका विद्यार्थी छन् । जिपिए २.० देखि २.४ ल्याउने विद्यार्थी संख्या सामुदायिकमा दुई हजार ७५३ सामुदायिक र संस्थागतमा १९७ जना छन् ।

जिपिए २.४ देखि २.८ सम्म ल्याउने ल्याउने सामुदायिक ३४ हजार ४२१ भने संस्थागत विद्यालय ६ हजार ७५६ छन् । यस्तै, जिपिए २.८ देखि ३.२ सम्म ल्याउने सामुदायिक विद्यालयका ४९ हजार २१४ र निजीका २९ हजार ६६० विद्यार्थी छन् । यो तह नतिजाको हिसाबका मध्यमस्तर मानिन्छ । उच्च जिपिए ल्याउने संख्यामा निजी विद्यालयले सामुदायिकलाई उछिनेका छन् ।

माथिल्लो जिपिए अर्थात् उत्कृष्ट अंक ल्याउनेमा निजी विद्यालयका विद्यार्थी धेरै छन् । बोर्डका अनुसार जिपिए ३.२ देखि ३.६ सम्म ल्याउने सामुदायिक विद्यालयका विद्यार्थी २५ हजार ४०५ छन् भने निजीका विद्यार्थी ४२ हजार ८५१ छन् । यो तहमा सामुदायिकका भन्दा झन्डै १८ हजार विद्यार्थी निजीका धेरै छन् ।

त्यस्तै, जिपिए ३.६ देखि ४.० सम्म ल्याउने सामुदायिक विद्यालयका विद्यार्थी संख्या ६ हजार ५३५ छ भने यो तहमा संस्थागत विद्यालयका विद्यार्थी २४ हजार ६७४ छन् । तथ्यांकका आधारमा उच्च जिपिए ल्याउने विद्यार्थी निजीकै धेरै भएको पुष्टि हुन्छ ।

नियम बदलियो, नतिजा खस्कियो
राष्ट्रिय परीक्षा बोर्डले ०७२ देखि ०७९ सम्म लेटर ग्रेडिङ मा नतिजा प्रकाशन गरेको थियो । यस प्रकारको प्रणालीमा सैद्धान्तिकमा झिनो अंक ल्याएका विद्यार्थी प्रयोगात्मकमा विद्यालयले दिएको नम्बरका आधारमा पास हुने गरेका थिए । परीक्षामा सामेल भएका सबै विद्यार्थी उत्तीर्ण हुन्थे । तर, बोर्डले कक्षा ११ र १२ को नतिजा खस्किएको महसुस गर्दै ०८० देखि सैद्धान्तिक र व्यावहारिक दुवैमा ३५–३५ प्रतिशत उत्तीर्णांकको नियम ल्याएको थियो । सोही नियमका कारण धेरै विद्यार्थी अनुत्तीर्ण हुन पुगेका छन् । त्यसमध्ये सबैभन्दा बढी विद्यार्थी सामुदायिक विद्यालयका छन् ।

खस्कियो नमुना विद्यालयहरूको नतिजा
नमुना विद्यालयको रूपमा देशभरि नै कहलिएको बुटवलको कालिका मानविज्ञान माविमा सबैभन्दा उच्च जिपिए ४.० ल्याउने विद्यार्थी संख्या शून्य छ । ७१ जना विद्यार्थी अनुत्तीर्ण छन् । त्यसमध्ये पनि नौजना विद्यार्थीको तीनवटाभन्दा बढी विषय लागेको छ । यस विद्यालयबाट एसइईमा ६७५ जना विद्यार्थी सहभागी भएका थिए । यसमध्येबाट सबैभन्दा बढी ३.९६ ल्याउने विद्यार्थी संख्या ६ जना छन् । जिपिए ३.४ देखि ३.६ ल्याउने विद्यार्थी संख्या ६६, जिपिए ३.२ देखि ३.४ सम्म ल्याउने विद्यार्थी २१२ जना, जिपिए २.८ देखि ३.२ ल्याउने विद्यार्थी १३८ जना छन् । तर, विद्यालयका प्रधानाध्यापक दिनेश थापाले नतिजा सन्तोषजनक आएको दाबी गरे । चितवन रत्ननगरमा रहेको नेपाल नमुना माविमा जम्मा २३ जना विद्यार्थी उत्तीर्ण भएका छन् । यस विद्यालयबाट ११५ जना विद्यार्थीले एसइई परीक्षा दिएका थिए । यो समाचार नयाँपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *