भारतको सहयोगमा मुस्ताङस्थित लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ गुम्बा विद्यालयमा छात्रावास बन्दै
भारत सरकारको सहयोगमा मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ गुम्बा विद्यालयका लागि निर्माण गरिने छात्रावास भवनको शिलान्यास गरिएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरूङले छात्रावास भवनको शुक्रबार संयुक्त रूपमा शिलान्यास गरेका हुन् ।
‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारका ४.१४ करोड रूपैयाँ आर्थिक सहयोगमा छात्रावास भवन निर्माण गर्न लागिएको हो । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी र गुम्बा विद्यालय व्यवस्थापनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग गुम्बा विद्यालयलाई आवश्यक पर्ने अन्य सुविधासँगै दुई तल्ले छात्रावास भवनको निर्माणमा उपयोग गरिनेछ । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको हो । यस परियोजनाको कार्यान्वयन लोमान्थाङ गाउँपालिकामार्फत गरिनेछ । यो परियोजना भारत र नेपालबीचको बलियो विकास साझेदारीको एउटा महत्त्वपूर्ण उदाहरण हो ।
कार्यक्रममा बोल्दै लोमान्थाङ गाउँपालिकाका अध्यक्ष, लोवो निफुग नाम्ड्रोल नोर्वुलिङ गुम्बा विद्यालयका अध्यक्ष र राजनीतिक दलका प्रतिनिधिले नेपालका जनताको उत्थानका लागि प्राथमिकताका क्षेत्रमा भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे ।
गुम्बा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि गुणस्तरीय शिक्षा र आवास सुविधा प्रदान गर्न नयाँ भवन उपयोगी हुनुका साथै यसले सिकाइका लागि राम्रो वातावरण सिर्जना गर्नेछ । शिक्षाको विकास र धार्मिक रेखदेखमा योगदान पुर्याउनुका साथै यस क्षेत्रका आफ्नै संस्कृति र परम्पराको संरक्षण गर्न मद्दत गर्ने विश्वास गरिएको छ ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ । यीमध्ये मुस्ताङका १७ वटा परियोजनासहित गण्डकी प्रदेशमा विभिन्न क्षेत्रमा ५९ वटा परियोजना रहेका छन् ।
यसका साथै भारत सरकारले नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिसकेको छ । त्यसमध्ये मुस्ताङ जिल्लालाई प्रदान गरिएको ११ वटा एम्बुलेन्स र ५ वटा स्कुल बससहित गण्डकी प्रदेशलाई ११९ वटा एम्बुलेन्स र ४० वटा स्कुल बस उपहारस्वरूप प्रदान गरिएको छ ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य हुँदै आएको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नतिका लागि प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको छ ।
प्रतिक्रिया