भक्तपुरमा २ करोड लुटपाट गर्ने ४ जना पक्राउ, मुख्य योजनाकार नै मामा !

भक्तपुरमा आफ्नै मामाको योजनामा भान्जाको घरबाट २ करोड रूपैयाँ लुटपाट भएको घटना बाहिरिएको छ । प्रहरीले पीडितका मामाको योजनामा लुटपाट गर्ने ४ जनालाई पक्राउ गरेको हो । मुख्य योजनाकार मानिएका पीडितका मामा भने फरार छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ परेकाहरूलाई मंगलबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले असार ४ गते भक्तपुरको सूर्यविनायक नगरपालिका-४, दधिकोट बस्ने ३५ वर्षीय डिल्लीबहादुर राउतको घरमा डाँका, चोरी तथा लुटपाट गर्ने तीन जनालाई पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार सो दिन अपरिचित ३ जना व्यक्तिहरू प्रवेश गरी सीबीआई हौं भन्दै घरधनी र सदस्यहरूलाई नियन्त्रणमा लिएर दराजभित्र रहेको २ करोड रूपैयाँ लुटपाट गरेका थिए ।

उक्त घटनामा संलग्न रहेका सुजन रसाइलीसहित ४ जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भक्तपुर पठाइएको उनले जानकारी दिए ।

हेर्नुहाेस भिडियाे:

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे-२ का ३० वर्षीय सुजन रसाइली, सिन्धुपाल्चोककै भोटेकोशी-२ का ३१ वर्षीय भीमबहादुर तामाङ, सोही स्थानका ३८ वर्षीय कृष्णबहादुर बोहरा र ओखलढुंगाको मानेभञ्ज्याङ-३ का ३६ वर्षीय मुनाराज राई रहेका छन् ।

प्रहरीका अनुसार डिल्लीबहादुर राउतका मामा कुलबहादुर खत्रीलाई राउतको घरमा ठूलो मात्रामा रकम रहेको जानकारी थियो । त्यस आधारमा खत्रीले वैदेशिक रोजगारको काम गर्ने सिलसिलामा चिनेका सुजन रसाइलीलाई उक्त कुरा जानकारी गराई लुट्ने योजना बनाएको पाइएको प्रहरीले बताएको छ । मुख्य याेजनाकार भनिएका खत्री भने अझै फरार छन् र प्रहरीले उनकाे खाेजी गरिरहेकाे छ  ।

प्रहरीले उनीहरूबाट ३६ लाख ३६ हजार रूपैयाँ नगद, लुटपाटका लागि प्रयोग भएको बा.प्र. ०२-०४०प.५५३८ र बा.प्र.०२-०३३ प ६१७४ नम्बरको २२० सीसीको पल्सर मोटरसाइकल २ थान, मोबाइल १० थान, लुटिएको रकम बोक्न प्रयोग भएको झोला २ थान, डाँका, चोरी तथा लुटपाट गर्दा लगाएका कपडाहरू, डाँका, चोरी तथा लुटपाट गर्दा लगाएका जुत्ता ३ जोर, खुकुरी एक थान बरामद भएको बताएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *