देवकोटालाई प्रदेश सांसदको रुपमा काम गर्न दिन सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले फणीन्द्र देवकोटालाई गण्डकी प्रदेश सदस्यका रूपमा काम गर्न दिन अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले देवकोटाको पक्षमा अन्तरिम आदेश जारी गर्ने निर्णय सुनाएको हो । राउतको एकल इजलासले देवकोटालाई माओवादीले गरेको कारबाही कार्यान्वयन नगर्न र सांसदको रुपमा काम गर्न दिन अन्तरिम आदेश दिएको छ ।

‘निवेदक नेपाल समाजवादी पार्टीसँग आबद्ध रहेको र सो पार्टी निवेदकले त्याग गरेको नदेखिएको साथै निवेदकलाई कारबाही गरी निष्कासनसमेत गरेको देखिँदैन,’ आदेशमा भनिएको छ, ‘निवेदक आबद्ध नभएको राजनीतिक दल माओवादीबाट निवेदकलाई दल त्याग गरेको भनी गण्डकी प्रदेश सभा सदस्यबाट निष्कासन गर्न पाउने अधिकार रहेको नदेखिएको ।’

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई विश्वासको मत दिन उनले फ्लोर क्रस गरेका थिए ।

फ्लोर क्रस गरेर कांग्रेसका उम्मेदवारलाई मत दिएको भन्दै आफ्नो निर्वाचन चिह्नबाट उठेको उम्मेदवार आफ्नो संसदीय दलको सदस्य भएको र दलले जारी गरेको ह्विप उल्लंघन गरेको भन्दै माओवादीले कारबाही गरेको थियो ।

देवकोटाले भने आफू नेपाल समाजवादी पार्टीको सदस्य भएकाले माओवादी केन्द्रले कारबाही गर्न नमिल्ने जिकिर गर्दै आएका थिए । ४ मंसिर २०७९ को प्रदेशसभा चुनावमा उनी माओवादी केन्द्रको चुनाव चिह्नबाट गोरखा २ (१) बाट निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *