तराईमा शान्तिसुरक्षाको अवस्था बिग्रियो, प्रहरीले नियन्त्रणमा लिन सकेनः सांसद थपलिया

एमालेकी सांसद सम्झना थपलियाले सिरहालगायत तराई, मधेसका जिल्लाहरुमा शान्ति सुरक्षाको अवस्था बिग्रिएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा उनले तीन महिनाभित्र श्रृंखलाबद्ध रुपमा भएको एक दर्जन बढी चोरी डकैतीका घटनाले समाजमा त्रास पैदा भएको बताइन् । उनले गाउँगाउँमा आपराधिक समूहले पर्चा र पोस्टर टाँसेरै सूचना दिने काम गरेको भन्दै नागरिकहरुमा डरले गाउँमा बस्न सक्ने अवस्था नरहेको बताइन् ।

नागरिकहरु अनिदो रही घरेलु हतियार लिएर रातभर जाग्रम बस्नुपर्ने परिस्थिति सिर्जना भएको भन्दै सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।

‘सिरहा जिल्ला लगायत तराई मधेसका अन्य जिल्लाहरुमा अहिले शान्ति सुरक्षाको अवस्था हदैसम्म बिग्रिएको छ । गाउँ गाउँमा आपराधिक समूहले यति दिनभित्र यो गाउँ लुट्छौँ, यति दिनभित्र यो गाउँ चोरी गर्छौं भनेर पोस्टर र पम्प्लेट टाँसेको अवस्था छ । सुन्दा यो अपत्यारिलो छ । तर सत्य कुरा यही हो,’ थपलियाले भनिन् ।

सांसद थपलियाले स्थानीय प्रहरी प्रशासनले परिस्थिति काबुमा लिन नसकेको भन्दै सुरक्षा निकाय चुस्त बनाउन सरकारसँग आग्रह गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *