मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्दै अख्तियार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ ।

सञ्चारसचिव हुँदा अर्याल सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्क स्टिकर खरिद गर्ने निर्णयमा संलग्न रहेकाले मुद्दा दायर गर्न लागेको अख्तियार स्रोतले जनाएको छ । अन्तःशुल्क स्टिकर खरिदमा भ्रष्टाचार भएको अख्तियारले ठहर गरेको छ ।

मुख्यसचिव अर्यालसहित केही उच्चपदस्थ अधिकारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायरको तयारी रहेको अख्तियार स्रोतले जानकारी दिएको छ ।

सुरक्षण मुद्रण केन्द्रबाट अन्तःशुल्क स्टिकर खरिद गर्ने क्रममा वास्तविक लागतभन्दा ४ गुणा बढीमा ठेक्का सम्झौता कायम गरिएको थियो । अधिकतम २५ पैसासम्म पर्ने स्टिकर ८९ पैसाका दरले छाप्ने गरी केन्द्र र प्रिन्टसेल प्रालिबीच २०७९ मंसिर २६ मा सम्झौता भएको थियो ।

सुरक्षण मुद्रण विकास समितिको अध्यक्षसमेत हुने सञ्चारसचिवको पदमा रहँदा अर्याल प्रिन्टसेललाई अग्रिम ५ करोड पेस्की दिने निर्णय प्रक्रियामा संलग्न थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *