आजदेखि काठमाडौं उपत्यकामा मेलम्चीको पानी नआउने
काठमाडौं उपत्यकामा आज (शुक्रबार)देखि मेलम्चीको पानी बन्द हुने भएको छ । वर्षाका कारण मेलम्ची नदीमा बहाव बढ्न थालेसँगै मेलम्ची खानेपानी विकास समितिले पानी आपूर्ति बन्द गर्न लागेको हो ।
बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै अम्बाथानस्थित मूलद्वार बन्द गर्ने तयारी भएको समितिले जनाएको छ । मुख्य ‘हेडबक्समा पानी थिग्र्याउने संरचना बिग्रिएकाले आयोजना बन्द गर्नुपर्ने अवस्था आएको हो ।
बन्द भएपछि उपत्यकावासीले मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने छैनन् । वर्षा कम भए मात्रै मेलम्चीको पानी उपत्यका पठाउन शुरु गर्ने खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए ।
मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी उपत्यकावासीलाई वितरण गरिने भनिएकोमा हाल आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ । काठमाडौंमा दैनिक ४३ करोड खानेपानीको माग रहेको छ । मेलम्चीको पानी बन्द भएपछि काठमाडौंमा पुनः खानेपानीको समस्या उत्पन्न हुनेछ ।
प्रतिक्रिया