सुनसहित समातिएका चिनियाँसहित नेपाली नागरिकता

तस्करीको ६ केजी सुनसहित आइतबार पक्राउ परेका चिनियाँ नागरिक सेरब ग्याल्मोले मुस्ताङबाट नेपाली नागरिकता लिएको खुलेको छ । प्रहरीका अनुसार उनले सोनाम गुरुङको नाममा मुस्ताङको लोमान्थाङ गाविसबाट नागरिकता लिएका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले ग्याल्मोलाई बौद्ध तीनचुलीबाट पक्राउ गरेको थियो । उनको कोठाबाट प्रहरीले एक–एक केजीका सुनका ६ थान बिस्कुट र ४८ लाख रुपैयाँ नगद बरामद गरेको थियो । खानतलासी गर्दा प्रहरीले उनीबाट सोनाम गुरुङको नाममा जारी भएको नेपाली नागरिकता फेला पारेको थियो । ३७ वर्षीय सेरब सोही नागरिकता प्रयोग गरेर नेपाल बस्दै आएको खुलेको छ ।

सिआइबी प्रवक्ता एसपी होविन्द्र बोगटीले सोनाम गुरुङको नाममा जारी भएको नागरिकता सक्कली रहेको जानकारी दिए । ‘चिनियाँ नागरिक सेरब ग्याल्मोसँग ‘६ केजी सुनसँगै सोनाम गुरुङको नाममा जारी भएको नेपाली नागरिकता पनि बरामद भएको छ । नागरिकता सक्कली नै हो । उनी नेपाली नागरिकता नै प्रयोग गरेर नेपाल बस्दै आएको देखिन्छ ।’

प्रहरीका अनुसार उनले प्रयोग गरेको नागरिकतामा बाबुको नाम दोर्जे गुरुङ लेखिएको छ । तर, जारी भएको मिति, जन्ममितिलगायतका विवरण खाली छ । नागरिकता सम्बन्धमा अनुसन्धान प्रक्रिया अघि बढेको प्रवक्ता बोगटीले बताए । ‘ग्याल्मोले प्रयोग गरेको नागरिकतामा जारी भएको मिति उल्लेख छैन । जन्ममिति पनि उल्लेख छैन । उक्त नागरिकता कसरी जारी भयो ? नागरिकता जारी गर्दा कसले हस्ताक्षर गरेको थियो ? यस सम्बन्धमा अनुसन्धान हुँदै छ,’ उनले भने ।

सिआइबी २ साउन ०८० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भई आएको ६०.७१६ किलो सुनको दोस्रो चरणको अनुसन्धानमा छ । ब्रेकसुमा लुकाएर विमानस्थलबाट पास गराइएको उक्त सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सो समूहले पटक–पटक सुन तस्करी गरेको खुले पनि थप सुन बरामद हुन नसकेकोमा ११ महिनापछि थप ६ केजी बरामद भएको हो ।

६० केजी सुनको भुक्तानी युएसडिटी(टेथर)मार्फत भएको देखिएपछि प्रहरी अनुसन्धानमा जुटेको छ । सोही क्रममा सेरब नेपालमै रहेको सूचना पाएपछि सिआइबी उच्च निगरानीमा थियो । आइतबार उनी तीनचुली रहेको खुलेपछि पछ्याउँदै गएको प्रहरीले डेराबाटै पक्राउ गरेको हो । युएसडिटी अर्थात् टेथर क्रिप्टो करेन्सीको नयाँ रूप हो । अन्तर्राष्ट्रिय तस्करहरूले भुक्तानी गर्दा पछिल्ला दिन यो विधि प्रयोग गर्दै आएका छन् । नेपाल हुँदै सुन तस्करीमा संलग्न गिरोहले भुक्तानी गर्न सोही विधि प्रयोग गर्दै आएका छन् । चिनियाँ नेतृत्वको गिरोहले एक वर्षको अवधिमा करिब २८ सय केजी सुन तस्करी गरेको सिआइबीको अनुसन्धानबाट पुष्टि भइसकेको छ ।

सिआइबीले सुन तस्करीमा संलग्न राजु खत्री, सुरेन्द्रमान श्रेष्ठ, प्रशान्तगणेश बजबलर, सिद्धनाथ गायकवाड, दिनेश भोइटे, बैजनाथ ब्रम्हादत्तलगायतलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीहरूमाथि अनुसन्धान गर्दा सुन तस्करीको पैसा डिजिटल मोबाइल वालेट कम्पनीहरू पे–वेल नेपाल र सजिलो–पेको समेत संलग्नता पुष्टि भएको छ । ती कम्पनीले हुन्डीमार्फत सुनको पैसा विदेश पठाएका थिए ।

सिआइबीले पे–वेल नेपालका अध्यक्ष भीमप्रसाद तिमल्सिनासहित, सिइओ प्रज्वल आचार्य र सुरजशमशेर जबरा तथा सजिलो–पे पेमेन्टका सञ्चालक सुशील जाकिबन्जार र फुन्सुक डाग्पा अथुप्छाङ खम्पा, प्रमुख कार्यकारी कस्यम मानन्धरलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ  । दुई कम्पनीबाट करिब दुई वर्षमा एक खर्बभन्दा धेरै अवैध कारोबार भएको सिआइबीको दाबी छ । उनीहरूले नेपालमा तस्करीको सुन किन्ने व्यक्तिलाई आफ्नो खातामा पैसा हाल्न लगाउने र उनीहरूलाई कोरिया तथा अस्ट्रेलियाबाट पैसा उपलब्ध गराएको अनुसन्धानमा पुष्टि भएको छ । यस प्रकरणमा यसअघि सिआइबीले तीन सय ६२ केजी सुन तस्करी गरेको अभियोगसहित २९ जनाविरुद्ध ३१ भदौ २०८० मा जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । जसमध्ये ६० केजी सात सय १६ ग्राम सुन बरामद भएको थियो ।

सिआइबीले विशेषज्ञ र प्राविधिकहरूसमेतको सहयोग लिएर यस विषयमा विस्तृत अनुसन्धान गर्दा २८ सय केजीभन्दा धेरै तस्करी गरेको पुष्टि भएको छ । सो गिरोहले ब्रेक सुका साथै पानी तान्ने पम्प, स्मार्ट वाच, इलेक्ट्रिक सेभिङ मेसिनलगायत सामानभित्र लुकाएर विमानस्थलबाटै सुन तस्करी गरेका थिए । दोस्रो चरणको अनुसन्धान यही साता सकाएर सिआइबीले सरकारी वकिलमा प्रतिवेदन बुझाउने तयारी गरेको छ । दोस्रो चरणमा सुन किनबेच गर्ने समूहका साथै हुन्डी, क्रिप्टो तथा युएसडिटीको अवैध कारोबार गर्ने समूहहरू पत्ता लागेका छन् ।

के हो ६०.७१६ किलो सुन तस्करी प्रकरण ?
गत २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सारको जाँचपास पार गरेर बाहिरिएको ६०.७१६ केजी सुन राजस्व अनुसन्धान विभागले पक्राउ गरेको थियो । उक्त सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेकसु’मा लुकाएर हङकङबाट क्याथे प्यासिफिकको जहाज हुँदै नेपाल ल्याइएको थियो । जसको अनुसन्धानपछि सिआइबीले गरेको थियो । २९ जनलाई प्रतिवादी बनाइएको उक्त मुद्दा अहिले पनि जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ ।

सिआइबीका अनुसार हङकङबाट नेपाल हुँदै भारतमा सुन तस्करी गर्ने गिरोहका मुख्य नाइके चिनियाँ नागरिक वाङ डाओजिन हुन् । सिचुवान प्रान्तका उनी कारोबारका लागि पटक–पटक नेपाल आउने र जाने गर्थे । ६०.७१६ केजी सुन बरामद हुनु केही दिनअघि मात्रै उनी नेपाल आएका थिए । कारोबारका लागि उनी हङकङ बस्ने गर्छन् । उनको कारोबारमा जेनपेङ योङछिन्, झोङ जिङछुन्, लिन र लीसहित अन्य तीनजना साझेदार छन् । उनीहरू हङकङमै बस्छन् ।

सुन करोबारका लागि उनीहरूले हङकङमा ताल्मुड, डोङगुन सुता ट्रान्सपोर्टेसन, जिनमेन फेङटोन ट्रान्सपोर्टेसनलगायतका १० कम्पनी खडा गरेका छन् । सोही कम्पनीमार्फत उनीहरू तस्करीको सुन नेपाल पठाउँदै आएका छन् । घटनाको अनुसन्धानमा संलग्न एसपी कृष्ण पंगेनीले तस्करीको सुुन नेपाल पठाउन तस्करले हङकङमा विभिन्न १० कम्पनी खोलेको बताए ।

गिरोहका नाइके दाबासँगै अरूले पनि लिएका थिए नेपाली नागरिकता   
सुन तस्करीका लागि नेपालमा सम्पूर्ण व्यवस्था मिलाउने काम तिब्बती मूलका बेल्जियम नागरिक दाबा छिरिङले गर्दै आएका थिए । सुन रिसिभ गरी भारतीय बजारमा लैजाने काम भने एलेक्स भनिने याओ फुचेङले गर्दैै आएका थिए । नेपालमा बस्न दाबाले नेपाली नागरिकता मात्रै लिएका थिएनन् । नेपाली पासपोर्टसमेत बनाएका थिए । उनकै सहयोगमा गिरोहका सदस्य चिनियाँ नागरिक फुचेङले पनि छिरिङ सोनाम तामाङका नाममा नेपाली नागरिकता र राहदानी बनाएका थिए । त्यस्तै, गिरोहका अर्का सदस्य नेङकाई लीले सोनाम लामा, वेन सुन लीले छिरिङ लामा, सेड फा डिङले राम लामाका नाममा नेपाली नागरिकता र राहदानी बनाएका थिए । सिआइबीका अनुसार नागरिकता र राहदानी बनाउन उनीहरूलाई दाबाले नै सघाएका थिए । यो समाचार नयाँपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर