विश्व बैंकको अनुदानमा बागलुङका तीन सडक कालोपत्र हुँदै

विश्व बैंकको अनुदान सहयोगमा बागलुङ नगरपालिकाभित्रका तीन सडक कालोपत्र गर्न थालिएका छन् ।

कालोपत्रका लागि निर्माण व्यवसायीसँग जेठ २३ गते एक वर्षका लागि ठेक्का सम्झौता भइ शिलान्यास भइसकेको छ भने अहिले मूलपानीदेखि तितौरेसम्मको खण्डमा धमाधम काम थालिएको छ । विसं २०७७ मा विश्व बैंक र बागलुङ नगरपालिकाबीच रु ५८ करोड रकम अनुदानमार्फत पूर्वाधार र सामाजिक विकासमा खर्च गर्न पाउने गरी सम्झौता भएको थियो । हाल रु ४३ करोड २१ लाख लागतमा आशिष÷फेवा जेवीले सडक निर्माणको काम गरिरहेको छ । आगामी २०८२ असार १५ गतेसम्म सडक निर्माण गरिसक्नुपर्ने सम्झौता रहेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

हाल बागलुङ नगरपालिका–७ को मुलपानीदेखि तितौरेसम्म साढे ८.६ किमि, ओडारचौरदेखि ढोडेनीसम्म साढे दुई किमि र गणेशघुम्तीदेखि निरयघाटको डेढ किमि सडक कालोपत्र गर्न थालिएको जानकारी दिए । तीन वर्ष अघिदेखि थालिएको बागलुङ नगरपालिकाले सहरी शासकीय तथा पूर्वाधार विकास कार्यक्रममार्फत उक्त सडक कालोपत्र गर्न थालिएको बागलुङ नगरपालिकाका इञ्जिनियर दीपेन्द्र भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार सडक पाँच दशमलव पाँच मिटरदेखि नौ मिटरसम्म चौडा हुनेछन् । निर्माण व्यवसायीले सडक चौडा पार्ने, कालोपत्र र ढलान गर्ने, नाली निर्माण गर्ने, पर्खाला लगाउने, फटपाथ निर्माण गर्ने, कजवे र कल्भर्ट निर्माण गर्ने, फर्निसिङ र स्ट्रिट लाइटसहित सडकको सौन्दर्यकरण गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *