अन्तर्वार्ता दिन नै गएनन् धितोपत्र बोर्डको अध्यक्षका उम्मेदवार
धितोपत्र बोर्डको अध्यक्षका प्रतिस्पर्धीहरु अन्तर्वार्तामा नै अनुपस्थित भएका छन् । प्रतिस्पर्धी ५ जनामध्ये ३ जना अन्तर्वार्तामा उपस्थिति नभएका हुन् ।
अध्यक्षका उम्मेदवारका लागि छानिएको सर्ट लिस्टमा सन्तोष नारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ, कृष्ण बहादुर कार्की, डा. नवराज श्रेष्ठ र चिरञ्जीवी चापागाईं परेका थिए । उनीहरुमध्ये सन्तोष र मुक्तिनाथ मात्र उपस्थित भएका हुन् ।
हाल नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर, धितोपत्र बोर्डका कार्यकारी निर्देशक नवराज र बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवि भने अन्तर्वार्तामै सहभागी भएनन् ।
नेपाल धितोपत्र बोर्ड ऐन अनुसार छनोट समितिले बोर्डको अध्यक्षको नियुक्तिको लागि कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्छ । त्यसमध्ये उपयुक्त एकलाई सरकारले बोर्डको अध्यक्ष नियुक्त गर्छ ।
तर, न्यूनतम उम्मेदवार नै सहभागी नभएपछि सिफारिस प्रक्रिया रद्द हुने सम्भावना बढेको छ । अनुपस्थितमध्ये एक सदस्यले आफू काठमाडौं बाहिर रहेकाले उपस्थित हुन नसकेको जनाएका छन् । तर माओवादी निकट तीनै जना सल्लाह गरेरै उपस्थित नभएको स्रोतको भनाइ छ ।
हाल बोर्डको अध्यक्ष चयनका लागि नयाँ स्टक एक्सचेन्जको विषय पनि महत्वपूर्ण बनेको छ । नयाँ स्टक एक्सचेन्जका लागि आफ्नो निकटका व्यक्तिलाई नियुक्त गर्न व्यावसायिक घरानो राजनीतिक नेतृत्वलाई दबाब दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र अर्थमन्त्री वर्षमान पुनको मतभिन्नताका कारण पनि बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया जटिल बनेको छ ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा बनेको समितिले पाँच जनाको नाम सिफारिस गरेको थियो । छनोट समितिले आइतबार अन्तर्वार्ताका लागि बोलाएको थियो । करिब ५ महिनादेखि धितोपत्र बोर्डको अध्यक्ष पद खाली छ ।
प्रतिक्रिया