‘बोक्सीको घर’को सफलतामा निर्माताले बेवास्ता गरेपछि निर्देशक भारतीको असन्तुष्टि

पछिल्लो समय व्यावसायिक र समीक्षात्मक दृष्टिले सफल भएको फिल्म ‘बोक्सीको घर’ का निर्देशक तथा लेखक सुलक्षण भारतीले निर्माण पक्षले आफूलाई बेवास्ता गरेकामा असन्तुष्टि व्यक्त गरेका छन् ।

चलचित्रले ५१ दिन मनाएको अवसरमा गरिएका कार्यक्रममा निर्देशक तथा लेखकलाई नै सहभागी नगराइएको भन्दै उनले सामाजिक सञ्जालमा स्टाटस राख्दै असन्तुष्टि व्यक्त गरेका हुन् । भारती आफैले लेखेको यो कथामा उनले पहिले नाटक बनाएका थिए । पछि अभिनेत्री केकी अधिकारीको निर्माण र शीर्ष भूमिका रहने गरी फिल्म बनाइएको हो ।

फिल्म रिलिज हुनुअघिका अन्तर्वार्तामा केकीले आफूलाई नाटक अत्यधिक मन परेको र लकडाउनको समयमा फिल्म निर्माणको सोच आएको बताएकी थिइन् । उनले आफ्नो धेरैपटकको आग्रह र छलफलपछि निर्देशक भारती फिल्म बनाउन तयार भएको पनि उल्लेख गरेकी थिइन् ।

यो फिल्लमा निर्देशक भारतीले अभिनय समेत गरेका छन् । तर, पछिल्लो समय केकीले चलचित्रको व्यावसायिक सफलताको कार्यक्रममा निर्देशक तथा लेखक भारतीलाई नै बेवास्ता गरेकी हुन् । ‘बोक्सीको घर आखिरमा कस्ले बनाएको चलचित्र हो ?’ उनले प्रश्न गरेका छन् ।

यस्तो छ भारतीको स्टाटसः

मलाइ जुन माया दर्शकहरुले दिनु भयो, त्यसको लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु । तपाइहरुको मायाले आज चचचित्र बोक्सीको घरले ५१ दिन मनाउन सफल भएको छ ।
यस चलचित्रका मुख्य कलाकार, लेखक, निर्देशक तथा अभिनय प्रशिक्षकको भूूमिकामा म सुलक्षण भारतीले काम गरेको छु । यहाँ आफ्नो लागि आफैले बोल्नुपर्ने रहेछ र लड्नुपर्ने रहेछ । यी मेरा प्रश्नहरु हुन कसैप्रति आक्षेप भने होइन ।

प्रश्न गर्न पाउनु मानिसको नैसर्गिक अधिकार पनि हो । यो ५१ दिनमा मैले गरेको अनुभवबाट उब्जिएका मेरा केही प्रश्नहरु हुन् । ‘काम गर्ने कालू माम खाने आलु’ के यो उखानले सार्थकता राख्छ ?

यो नितान्त मेरो कृति हो र निर्माता पक्षले यस्मा ध्यान नदिनुले के प्रश्न खडा गर्छ ? कुनै पनि बोक्सीको घरको कार्यक्रम भएको ठाउँमा लेखक र निर्देशकको उपस्थिति नहुनु र वास्ता नगरिनुले के सार्थकता राख्छ ?

म सर्जक भएर हेर्दा आफ्नो मृत्यु भएको अनुभव गरेको छु के यो अनुभव स्वाभाविक हो ? जसले जे काम गरेको छ, त्यसको उचित मूल्यांकन हुन पनि जरुरी छ वा छैन ? लेखक तथा निर्देशक आर्थिक तथा सामाजिक रुपमा कमजोर छ भन्दैमा उसलाई बेवास्ता गर्नु न्यायोचित होला र ?

के लेखक तथा निर्देशकलाइ यसरी बेवास्ता गर्न मिल्छ र ? बौद्धिक चोरी भनेको के हो ? बोक्सीको घर आखिरमा कसले बनाएको चलचित्र हो ? अब फेरि जीवनमा म जस्ताले चलचित्र किन र केका लागि बनाउने ?

दर्शक र सर्जकबीचको पुल भनेको अहिलेको समयमा सञ्चारमाध्यम हो । यस विषयमा कसले ध्यान दिने ? एउटा सर्जक र उसको कामको मूल्यांकन के आवश्यकताको विषय होइन र ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर