कसरी बनाउने बूढीगण्डकी आयोजना ? यस्तो छ विश्वप्रकाशको प्रस्ताव

लामो समयदेखि चर्चा भए पनि काम सुरु नभएको बुढीगण्डकी जलविद्युत् आयोजना कसरी र कसको लगानीमा बनाउने भन्नेमा स्पष्टता छैन । सरकारले फेरिएपिच्छे यो आयोजनालाई विदेशी लगानीमा बनाउने कि नेपालकै लगानीमा भन्नेमा मतभिन्नता देखिने गरेको छ ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भने यो आयोजना नेपालीहरुकै लगानीमा बन्नुपर्ने प्रस्ताव गरेका छन् । स्वदेशमा तथा विदेशमा रहेका नेपालीहरुको लगानीमा उक्त आयोजना सम्पन्न गर्ने काम सरकारले गर्नुपर्ने उनको भनाइ छ ।

आइतबार प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै महामन्त्री शर्माले ‘मेरो सहभागितामा नेपाल बन्दै छ’ भन्ने कुराको सन्देश दिन पनि नेपाल भित्र र बाहिर रहेका नेपालीहरुको लगानीमा सो आयोजना सम्पन्न गर्न उपयुक्त हुने धारणा पनि राखे ।

‘म आज बूढीगण्डकी परियोजनाको सन्दर्भमा अन्तिममा यति आग्रह गर्न चाहन्छु । यो परियोजना निर्माण गर्ने सन्दर्भमा हामीले कदम चाल्दै गर्दा सत्ता, प्रतिपक्ष हामी सबै एक छौं । सबै आग्रह पूर्वाग्रहभन्दा माथि उठेर स्वदेश र विदेशमा भएका समस्त नेपालीलाई गाँसी राखेर यो परियोजना निर्माण गरेर नेपाल बन्नसक्छ, बन्दै छ । र मेरो सहभागितामा बन्दैछ । नेपाल बन्ने एउटा उज्यालो दिशातिर जाँदैछ भन्ने सन्देश दिनका लागि सरकार सफल बन्नुपर्छ,’ शर्माले भने ।

सरकारले १२ सय मेगावाट क्षमताको उक्त आयोजनाको निर्माण कार्यमा ढिलाई गर्न नहुने बताउँदै उनले वैदेशिक ऋणको पासोमा पर्नबाट जोगिन पनि सरकारले वैदेशिक ऋण लिएर यस्ता ठूला आयोजनाहरु अघि बढ्न नहुने तर्क गरे । भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दाका ऋण तिर्न नसकिने अवस्था विद्यमान रहेको पनि उनले स्मरण गराए ।

‘केवल विद्युत उत्पादन मात्रै हो भने त विदेशीलाई दिँदा केही फरक पर्दैन । तर यो बहुउद्देश्यीय परियोजना हो । पहिलो त १२ सय मेगावाट विद्युतको कुरा छ । दोस्रो, हजारौं हेक्टरमा सिंचाई, तेस्रो, लाखौंले पिउने पानी । चौंथो, पर्यटन । सहायक प्रोजेक्टको रुपमा माछा पालन । विदेशी कम्पनीलाई नदिने हो भने अर्को विकल्प विदेशबाट ऋण लिने । हामी यसमा सोच्न सक्दछौं सभामुख महोदय,’ शर्माले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर