राज्य व्यवस्था समितिमा एनजीओको खाजा, गृहमन्त्री र समिति सदस्यको बहिष्कार
राज्य व्यवस्था तथा सुशासन समितिको खाजा एनजीओले प्रायोजन गरेको पाइएपछि गृहमन्त्री तथा सांसदहरुले बैठक बहिष्कार गरेका छन् । उनीहरुको बहिष्कारपछि बैठक स्थगित भएको छ ।
कांग्रेस सांसद रामहरि खतिवडा सभापति रहेको राज्य व्यवस्था समितिको आजको बैठकमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्ने कार्यक्रम थियो । बिहान ७ बजेको बैठकअघि नै महँगो मूल्यको खाजा सांसद तथा मन्त्री बस्ने अगाडिको टेबलमा तयार गरेर राखिएको थियो ।
हालसम्म यस्तो खाजा प्रायोजन नभएको हुनाले बैठक सुरु हुनुअघि नै सांसदहरुले खाजाबारे जिज्ञासा राखेका थिए । त्यसक्रममा उक्त खाजा एनजीओ एलएक्सपिटीडी भन्ने जनसंख्या र विकाससम्बन्धी काम गर्ने संस्थाले उपलब्ध गराएको खुलेको थियो ।
स्वयं एनजीओका पदाधिकारी पनि उक्त बैठकमा सहभागी थिए । राज्यको कानुन बनाउने विषयमा हुने छलफलका लागि एनजीओको खाजा प्रयोग गर्नु उपयुक्त नहुने भन्दै गृहमन्त्री लामिछाने बाहिरिएका थिए । त्यसपछि अन्य सांसदले पनि बैठक बहिष्कार गरेपछि बैठक स्थगित भएको हो ।
प्रतिक्रिया