मधेश प्रदेशमा हत्याका घटना बढे, सक्रियता अपनाउन आवश्यक छ : सांसद मैनाली

नेकपा एमालेका सांसद अच्युतप्रसाद मैनालीले मधेश प्रदेशमा हत्याका घटनाहरू बढेको भन्दै नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद मैनालीले मधेशका विभिन्न जिल्लाहरूमा दिनदहाडै हत्याका श्रृंखलाहरू बढ्दै गएको भन्दै सरकारले ध्यान दिनुपर्ने बताए ।

‘बारा जिल्लामा यो चौथो घटना हो । एक वर्षको अवधिमा गत असोजमा पनि कलैया सदरमुकामको चोकमा दिन दहाडै एक निजी स्कुलका प्रिन्सिपलमाथि आक्रमण भयो । उहाँको हत्या भयो,’ मैनालीले भने, ‘भदौ महिनामा पनि भारतका व्यक्तिलाई नेपालमा ल्याएर हत्या गरियो । यो हत्याको श्रृंखला बढ्दै गइरहेको छ ।’

उनले खुला सीमाका कारण भारतबाट नेपालमा आइ हत्या गर्ने, सुटरहरू नेपाल प्रवेश गर्ने र हत्या गर्ने हुनाले हत्याका घटनामा उल्लेख्य वृद्धि भएको भन्दै रोकथामका लागि आवश्यक पहल गर्न आग्रह गरे ।

‘सुटर भारतबाट आएर नेपालमा आउने, खुला सीमा, हातहतियारहरूको ओसारपसारले गर्दा मधेश खासगरी सीमा क्षेत्रका बासिन्दा असुरक्षित र त्रसित भएका छन्,’ उनले भने ।

अपराधीलाई अविलम्ब नियन्त्रण गरी कानुनको दायरामा ल्याउन आवश्यक रहेको उनको भनाइ छ । ‘मधेशमा एक दशकअघि जुन राजनीतिक आवरणमा हत्या र हिंसाका श्रृंखला भएको थियो, धेरै मानिसहरू विस्थापित हुनुपर्‍यो,’ मैनालीले भने, ‘त्यो पीडालाई बिर्सिएर मधेश संग्लिँदै गइरहेको अवस्थामा हत्या जुन हिसावले बढ्दो रूपमा छ । यसको अविलम्व नियन्त्रण, अपराधीलाई कानूनको दायरामा ल्याउनको लागि र सीमा पारीको प्रशासनसँग पनि समन्वय गरेर प्रशासनले सक्रियता अपनाओस् ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर