एमालेलाई काम गर्न नदिन कांग्रेसको अनर्गल प्रचार: ओली
एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विकास हुन नदिन कांग्रेसले ‘स्यालहुँइया’ मच्चाएको आरोप लगाएका छ ।
बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेलाई देशका लागि काम गर्न नदिनका लागि कांग्रेसले एमालेमाथि आक्रमण गरिरहेको बताए । राम्रा काम गर्न नदिन अनर्गल प्रचार प्रसार गरिरहेको उनको भनाइ थियो ।
वैचारिक संघर्ष गर्न नसक्नेहरुले एमालेमाथि प्रहार गरिरहेको उनको आरोप छ ।
‘एउटा स्याल कराइसक्यो, अर्को स्याल निस्किएर कराउँछ । एउटा करायो, पशुपतिमा एक सय ८ केजी सुन भनेर पित्तल चढायो, केपी ओलीले पित्तल चढायो, छानबिन गरी पाउँ भनेर । पशुपतिमा चढाएको जलाहरी भत्काएर, तौलिएर, सुन हो कि होइन घोटेर उधुम गरे । सुनै चढाएको रहेछ । कहाँ गयो त्यो कराउने अहिले ? १०८ केजी सुनवाला कहाँ गयो त्यो । अर्को करायो एउटा । कम्बोडियामा तीन हजार करोड लगेर टेलिकममा राखेको छ रे । कहाँ गयो, त्यो अचेल, फिर्ता ल्याए भयो नि, त्यो पैसा । उनीहरुको सरकार थियो, अस्तिसम्म । किन ल्याएन फिर्ता । अहिले गिरिबन्धु टि इस्टेट भनेर जानेका छन् । कराएका छन् । गिरीबन्धु टि इस्टेटमा एक पटक ५१ र अर्को पटक १९ बिगाह गरेर ७० बिगाह कानून, नियम बिना बलजफ्ती बिक्री गरेर खाएका थिए । तिनै तत्वहरुले खाएका थिए । गिरिबन्धु टि इस्टेटलाई बेथिति गर्न पाइँदैन भनेर कानून हामीले बनायौँ, कानून बनाएपछि नियम कानूनभित्र बस्नुप¥यो, बेचेर खान नपाइने भयो भनेर स्यालहुँइया मच्चाएका छन्,’ ओलीले भने ।
अध्यक्ष ओलीले एमालेभित्र एकताका लागि ठाउँ रहेको भन्दै फाटो, विभाजन र गुटबन्दीका लागि ठाउँ नरहेको बताए । उनले मिसन ०८४ देशको राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पु¥याएर देशको विकास गर्नका लागि रहेको बताए ।
प्रतिक्रिया