व्यापार र ठेक्कापट्टामा सेनाको संलग्नताबारे संसदमा उठ्यो प्रश्न
एमाले सांसद पृथ्वीसुब्बा गुरुङले नेपाली सेनामा महत्वकांक्षा बढेमा व्यवस्थामाथि नै संकट पैदा हुने बताएका छन् ।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद गुरुङले सेनाको महत्वाकांक्षा बढ्न दिन नहुने बताएका हुन् । सेनालाई व्यापार र ठेक्कापट्टा गर्न दिनु कत्तिको जायज हो भनी प्रश्न समेत गरे ।
‘हामीहरु त्यस्तो संवेदनशील जुन अंग छ, जुन संस्था, संरचना छ नेपाली सेना । त्यसलाई हामी व्यापार गर्न दिन्छौँ । त्यसलाई हामी ठेक्कापट्टा गर्न दिन्छौँ । सुरक्षाको हिसाबले, संवेदनशीलताको हिसाबले यो कुरा कत्तिको जायज हो ?’ उनले भने ।
उनले नेपाली सेनालाई अझै आधुनिकीकरण, सक्षम र लोकतान्त्रिकरण गर्नुपर्ने बताए । सेनाभित्र गणतन्त्र नआएको टिप्पणी गर्दै गुरुङले राष्ट्रिय सुरक्षा नीतिमा समयानुकूल सुधार गर्नुपर्नेमा जोड दिए ।
‘आज कुनै नेताले यो कुरा मुख खोल्न सक्दैन होला । हामीले सोच्नुपर्छ, त्यो चिज धेरै महत्वाकांक्षी बन्यो भने त्यसले हाम्रो लोकतन्त्र, गणतन्त्रमाथि विभिन्न देशको घटना हेर्दाखेरि त्यस्तो महत्वकांक्षा बढ्दाखेरि के हुन्छ ? संकट पैदा भएको देखेको छैन ? हामीले देखेको छौँ नि,’ उनले भने, ‘अहिले उसको काम त राम्रो होला । विश्वसनीय संस्था नेपाली सेना नै भनेका छौँ । नेपाली सेनाको अझै आधुनिकीकरण, पेशागत हिसाबले अझै सक्षम संस्था बनाउनु जरुरी छ ।’
सांसद गुरुङले सबै मन्त्रालयका बजेटहरु परम्परावादी भएको बताए । बजेट मन्त्रालयका सचिव, सहसचिवहरुले बनाएको देखिने भन्दै त्यसबाट माथि उठ्न बजेट निर्माणमा मन्त्रीले हस्तक्षेप गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया