जेनेभा पुगे राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेल स्वीट्जरल्याण्डको जेनेभा पुगेका छन् । उनलाई जेनेभा अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली राजदूत रामप्रसाद सुवेदी तथा दूतावासका कर्मचारीले स्वागत गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

उनले जेठ ३१ मा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को आयोजनामा हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ उच्चस्तरीय सत्र अन्तर्गतको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’ (ग्लोबल कोलिसन फर सोशल जस्टिस्) को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सोहि दिन राष्ट्रपति पौडेलसँग आइएलओ का महानिर्देशक गिल्बर्ट एफ होग्ङबोले शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ । त्यसैगरी स्वीस महासंघका राष्ट्रपति भिओला आमहर्डसँग उनले द्विपक्षीय वार्ता गर्नेछन् ।

स्वीट्जरल्याण्डको भ्रमणपछि राष्ट्रपति पौडेल असार १ मा जेनेभाबाट रोयल डच एयरलान्सबाट जर्मनीको बर्लिन् प्रस्थान गर्नेछन् । राष्ट्रपति पौडेलले संघीय गणतन्त्र जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टाईनमायेर निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लागेका हुन् । उनले असार ३ गते जर्मनी राष्ट्रपतिसँग औपचारिक वार्ता गर्नेछन् ।

जर्मनीमा राष्ट्रपति पौडेलले पोष्टडाम इन्स्टिच्युट फोर क्लाइमेट इम्प्याक्ट रिसर्च इन्स्टिच्युट, जर्मन रिसर्च फर जियो– साइन्स, टेलेग्राफफेनवर्ग क्याम्पसको अवलोकन गर्ने कार्यक्रम रहेको छ । साथै सेसिलीयानहोफ एन्ड स्यान्ससोसी प्यालेस गार्डेन र सेसिलीयानहोफ एन्ड स्यान्ससोसी प्यालेस म्युजियमको पनि अवलोकन गर्ने कार्यक्रम छ ।

त्यसैगरी असार २ मा गैरआवासीय नेपाली संघ जर्मनीले राष्ट्रपति पौडेललाई अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । सोही कार्यक्रममा उनले जर्मनीमा रहेका नेपाली समुदायलाई सम्बोधन गर्ने कार्यक्रम पनि तय भएको छ ।

त्यस्तै असार ३ मा जर्मनी ट्रेड एन्ड इनभेस्ट आबद्ध उद्योगी व्यापारीहरूलाई भेट दिने कार्यक्रम रहेको छ । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्कनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर