सेवाग्राहीको चाप बढेपछि चितवनमा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन बिहानैदेखि

राष्ट्रिय परिचयपत्र वितरण तथा विवरण सङ्कलन दैनिक बिहान ७ बजेदेखि थालिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सोमबारदेखि बिहान ७ बाट साँझ ५ बजेसम्म वितरण तथा विवरण सङ्कलन सुरु गरेको हो ।

कार्यालयका सूचना अधिकारी अन्तिम सिंजालीका अनुसार आगामी असार मसान्तसम्म बिहान ७ बजेबाट विवरण सङ्कलन गर्न लागिएको हो । परिचयपत्रको विवरण सङ्कलन गर्न आउने सेवाग्राहीको चाप बढेपछि एक महिनाका लागि समय थप गरी सेवा दिन लागिएको उनले बताए ।

जिल्लामा चालु आर्थिक वर्षको वैशाखसम्ममा २८ हजार पाँच सय ६० जनाले राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गराएका छन् । अहिले दैनिक तीनदेखि चार सय सेवाग्राही राष्ट्रिय परिचयपत्र बनाउन आउने गरेका छन् । हाम्रो कोटा दिनमा एक सय ७० जनाको मात्र हो । सेवाग्राहीको चाप बढेसँगै एक महिनाका लागि अभियानका रूपमा बिहानबाट नै सेवा दिन थालिएको जनाउँदै उनले भने, भीड कम नभए अभियानलाई निरन्तरता दिइने छ । परिचयपत्र बनाउने सेवाग्राहीको चाप बढेसँगै फोटो खिच्ने ‘स्टेशन’ थप गरिएको उनले बताए । पहिला चार वटा मात्रै ‘स्टेशन’बाट सेवा दिइएकामा अहिले थप गरेर पाँच वटा बनाउँदा समेत चाप कम हुन नसकेको उनले बताए ।

सरकारले लागू गरेको सामाजिक सुरक्षा कोषसँगै वैदेशिक प्रयोजन र अन्य कामका लागि परिचयपत्र आवश्यक पर्ने भएपछि सेवाग्राहीको चाप बढेको उनले बताए । परिचयपत्रको भीडले गर्दा अन्य सेवामा समेत प्रभाव पारेको भन्दै उनले हरेक पालिकामा शिविरको रूपमा अभियान चलाउने सोचमा प्रशासन रहेको जानकारी दिए । यस विषयमा विभागसँग छलफल चलिरहेको जनाउँदै उनले शिविर चलाउन सकेमा भीड कम गर्न सहज हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर