७ दिनभित्र भाडाका सटर खालि गराउन सामुदायिक विद्यालयलाई कामनपाको अल्टिमेटम

काठमाडौं महानगरपालिकाले महानगरभित्रका सामुदायिक विद्यालयले भाडामा लगाएका सटरहरु ७ दिनभित्र खालि नगरे कारबाही गर्ने चेतावनी दिएको छ ।

सोमबार महानगरपालिकाले बानेश्वरस्थित बानेश्वर रत्नराज्य माध्यमिक विद्यालय लगायतका सामुदायिक विद्यालयहरुले भाडामा दिएका सटरहरु खालि गर्न निर्देशन दिएको हो । सात दिन भित्र व्यवसायिक प्रयोजनका सटरहरु खालि नगरे कारबाही प्रक्रिया अघि बढाउने महानगरले जनाएको छ ।

अनुगनका क्रममा काठमाडौं महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीले काठमाडौं महानगरपालिका सामुदायिक विद्यालयहरुमा विभिन्न खालका टहरा र सटर बनाएर भाडामा लगाउने र भाडा लिने गरेको बताए । उनले महानगरभित्र ३७ वटा विद्यालयले सटर भाडामा दिएको बताए ।

सामुदायिक विद्यालयमा अहिले विद्यार्थीको चाप बढेको र विद्यार्थीहरुलाई कक्षा कोठा साँघुरो भएकाले महानगरपालिकाले विद्यालयको स्थान विद्यार्थीहरुका लागि नै प्रयोजन गर्ने हेतु यो नीति लिएको बताए ।

‘काठमाडौं महानगरपालिकाको एउटा नीति छ, यो विद्यालयहरुमा विभिन्न खालका टहरा र सटर बनाएर भाडामा लगाउने र त्यो भाडा लिने जुन एउटा चलिरहेको छ, ३७ वटा स्कुलमा त्यस्तो देखिएको छ । अहिले महानगरको नीतिअनुसार त्यो भाडामा लगाएको सटरलाई खालि गर्ने र सामुदायिक विद्यालयमा विद्यार्थीको चाप एकदमै बढ्दो छ । ती कक्षाकोठामा विद्यार्थी खचाखच भएका छन् । उनीहरुको बसाई र खेल्ने ठाउँ व्यवस्थापनको लागि ३७ विद्यालयमा हिजोदेखि क्रमशः बन्द गर्दै हिँडेका छौं। सात दिनको म्याद दिएका छौँ सामान सार्न । त्यो समयसम्म नसारे अर्को प्रक्रिया अघि बढ्छ । विद्यालयको सम्पती बालबालिकाको अधिकतम हितमा प्रयोग हुनुपर्ने भएकाले सोहीअनुसार अघि बढेको हो,’ उनले भने ।

महानगरले आइतबारदेखि यस अभियान अघि बढाएको हो । यो अभियानले साँघुरो भएको विद्यालयहरुलाई खेल स्थानको व्यवस्थापन र कक्षा कोठा बिस्तार गर्न सहयोग पुग्ने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर