पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

सवारी दुर्घटनामा मृत्यु भएकी निर्मला अधिकारीका आफन्तले हेटौँडामा पूर्व-पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

गत जेठ २५ गते मकवानपुरको मनहरि गाउँपालिका-९ रजैयामा भारतीय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिइ मोटरसाइकलमा सवार हेटौँडा-८ निवासी निर्मला अधिकारीको मृत्यु भएपछि हालसम्म ग्यास बुलेटधनीलाई सम्पर्कमा नल्याएको भन्दै मृतकका आफन्तले राजमार्ग अवरुद्ध पारेका हुन ।

प्रहरीलाई पटक-पटक अनुरोध गर्दा समेत आफूहरूलाई बेवास्ता गरेको र हालसम्म मृतकको अन्तिम संस्कार गर्न नसकिएको भन्दै आफन्तहरूले राजमार्ग अवरुद्ध गरेका हुन् ।

चितवनबाट हेटौँडातर्फ आउँदै गरेको एएस २५ डीसी ०२१२ नम्बरको खाली ग्यास बुलेटले विपरीत दिशाबाट जाँदै गरेको ग७प २३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिई भएको दुर्घटनामा अधिकारीको ज्यान गएको थियो ।

घटनापछि आफूहरूले प्रहरीलाई पटक-पटक अनुरोध गर्दा पनि सवारीधनीलाई हेटौँडा नझिकाइएको भन्दै आफूहरूले बाध्य भएर राजमार्ग अवरोध गर्नु परेको मृतकका आफन्त सपना श्रेष्ठले जानकारी दिइन ।

मृतक अधिकारीको श्रीमान् गत १८ वर्षबाट सम्पर्कमा नरहेको र मृतकको एक छोरी मात्र रहेको कारण न्यायको लागि आफूहरू आन्दोलित हुनुपरेको उनको भनाइ छ । उनीहरूले हेटौँडा-९ को औद्योगिक क्षेत्र अगाडि राजमार्ग अवरोध गरेका हुन् । उक्त क्षेत्रमा अहिले प्रहरी पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर