मधेशको मुख्यमन्त्रीमा जनतमतका सतिश सिंहको दाबी पेस

जनमत पार्टीको पक्षमा सरकार बनाउने संख्या पुगेपछि प्रदेशको नयाँ मुख्यमन्त्रीमा प्रदेश सभा सदस्य सतिश सिंहले आज बिहान दाबी पेस गरेका छन् । हिजो जनमत पार्टीलाई ठूला पार्टीहरूको समर्थन प्राप्त हुने निश्चित भएपछि त्यसपार्टीका सदस्य सिंहलाई मुख्यमन्त्रीमा अघि सारिएको हो ।

प्रदेश सरकारमा को को रहने भनेर रातभर नै दलका नेताहरूको विभिन्न चरणमा छलफल भएको थियो । सरकारमा भागबण्डा मिल्ने अवस्था बनिसकेकाले आज प्रदेश सभा सदस्य सिंहले प्रदेश प्रमुख समक्ष सरकार बनाउने संख्या प्रस्तुत गर्दै दाबी पेश गरेका हुन् ।

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन नसकी पदमुक्त भएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदीले शुक्रबार बिहान १० बजेसम्म सरकार बनाउन दाबी पेश गर्न समय दिएकी थिइन् ।

११ मन्त्रालय रहेको मधेश प्रदेशमा जनमतले मुख्यमन्त्रीसहित एउटा तत्काल बिना विभागीय मन्त्रालय पाउने सहमति छ । त्यस्तै साझेदार दलहरुबीच एमाले भौतिक, शिक्षा, स्वास्थ्य र खेलकुद तथा समाज कल्याण, माओवादी केन्द्रलाई अर्थ र पर्यटन मन्त्रालय पाउनेछन् ।

नेकपा एकीकृत समाजवादीलाई कृषि, ऊर्जा तथा सिँचाइ, १–१ सिटको नेपाल समाजवादी पार्टीलाई गृह सञ्चार तथा कानुन र नागरिक उन्मुक्ति पार्टीलाई श्रम तथा यातायात मन्त्रालय दिने सहमति भएको जनमत पार्टी निकट सूत्रले जानकारी दिएको छ ।

सिंहले एमाले, माओवादी केन्द्र, जनमत, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादीको समर्थनमा दाबी पेश गरेका हुन् । १०७ सदस्यीय प्रदेश सभामा ६ राजनीतिक दलका ५५ जना सांसदले सिंहलाई मुख्यमन्त्रीमा समर्थन गरेको दाबी पेश गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर