सेनाको सफा हिमाल अभियानमा ११ टन फोहोर संकलन

नेपाल सेनाले सञ्चाल गरेको सफा हिमाल अभियान—२०२४ अन्तर्गत ११ टन फोहोर, ४ वटा मानव शव र एक अस्थिपञ्जर संकलन गरिएको छ ।

बुधबार सेनाले काठमाडौंमा समापन समारोहको आयोजना गर्दै यसबारेमा जानकारी गराएको हो । समापन समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले प्रतिकूल मौसम तथा विषम परिस्थितिका बाबजुत यस अभियानको दौरान करिब ११ टन फोहोर, साथसाथै बेवारिसे अवस्थामा रहेका ४ वटा मानव शव र १ अस्थिपञ्जर संकलन गरिएको बताए ।

५५ दिनसम्म सञ्चालित अभियानमा कति मात्रामा फोहोर संकलन भयो भन्ने कुराले मात्र अभियानको महत्व उजागर गर्न नसक्ने उनको भनाइ छ । शर्माले अभियानको सञ्चालनपूर्व र सञ्चालनपश्चात् भएका केही उपलब्धिहरुले अन्तर्राष्ट्रिय रुपमा नेपाली जनताले प्रकृति तथा पर्यावरण संरक्षण सम्बन्धमा जनाएको प्रतिबद्धताप्रति पनि इंगित गरेको बताए ।

‘प्रतिकूल मौसम तथा विषम परिस्थितिका बाबजुत यस अभियानको दौरान करिब ११ टन फोहोर, साथसाथै बेवारिसे अवस्थामा रहेका ४ वटा मानव शव र १ अस्थिपञ्जर संकलन गरिएको छ । जुन आफैँमा एक उपलब्धिमुलक र हामीले दिएको र हामीले लिएका लक्ष्य र लक्ष्यअनुरुप आफ्नो काम पूरा गर्न देखाउनुभएको तत्परता मिसन हो । यद्यपि, मैले फ्ल्याग अफ सेरोमनिमा भनेको जस्तो फोहोर संकलनको तथ्यांक यसको एउटा मानक मात्रै हो,’ शर्माले भने ।

उनले अगाडि भने, ‘त्यसभन्दा बढी यस अभियानको प्रतिकात्मक विम्वको रुपमा यसको अर्थ वृहत रहेको हुन्छ । करिब ५५ दिनसम्म सञ्चालित यस अभियानमा कति मात्रामा फोहोर संकलन भयो भन्नेकुराले मात्र यो अभियानको महत्व पक्कै पनि उजागर गर्दैन । यसले त सुरुवात मात्रै गरेको हो । यस अभियानको सञ्चालनपूर्व सञ्चालनपछि भएका केही उपलब्धीहरुले अन्तर्राष्ट्रिय रुपमा हामी नेपाली जनताले प्रकृति तथा पर्यावरण संरक्षण सम्बन्धमा जनाएको प्रतिवद्धताप्रति पनि इंगित गरेको छ । जुन हामी सम्पूर्ण नेपालीहरुको लागि गर्वको विषय हो ।’

नेपाली सेनाले चैत २९ देखि अभियानको सुरुवात गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर