कंगनादेखि हेमा मालिनीसम्म, यी चर्चित सिनेकर्मी देखिनेछन् भारतीय संसदमा
भारतको लोकसभा चुनाव २०२४ को नतिजा सार्वजनिक भइसकेको छ । यसपटक १५ जना सेलिब्रेटीले लोकसभा चुनाव लडेका थिए, जसमध्ये ११ जनाले जितेका छन् ।
विजेताहरूमा कंगना रनौत, हेमा मालिनी, शत्रुघ्न सिन्हा, रवि किशन, मनोज तिवारी जस्ता नामहरू समावेश छन्, जबकि भोजपुरी स्टार पवन सिंह र दिनेश निरहुआ नराम्ररी हारेका छन् ।
ड्रीम गर्ल हेमा मालिनीले उत्तर प्रदेशको मथुरा सिटबाट भाजपाको टिकट पाएकी थिइन् । उनको अगाडि कांग्रेस नेता मुकेश धनगर थिए । मालिनी २ लाख ९३ हजार ४०७ मतले विजयी भएकी छन् । मालिनीले ५ लाख १० भोट पाइन् भने धनगरले २ लाख १६ हजार भोट पाए ।
हिमाचल प्रदेशको मण्डीबाट भाजपाको टिकट पाएकी कंगना रनौतले कांग्रेस नेता विक्रमादित्य सिंहलाई पराजित गरेकी छन् । कंगनाले ५ लाख ३७ हजार मत पाएकी छन् । प्रतिस्पर्धी सिंहले ४ लाख ६२ हजार मत पाए ।
टीएमसीका तर्फबाट शत्रुघ्न सिन्हाले पश्चिम बंगालको आसनसोल सिटबाट भाजपा नेता एसएस अहलुवालियालाई ५९ हजार ५६४ मतले पराजित गरेका छन् । सिन्हाले ६ लाख ५ हजार मत पाए भने प्रतिस्पर्धी एसएसले ५ लाख ४६ हजार मत पाएका छन् ।
चुनाव जित्ने अर्का चर्चित कालाकार हुन्, अरुण गोविल । चर्चित टेलिभिजन शो रामायणमा भगवान श्रीरामको भूमिका खेलेर चर्चित बनेका अभिनेता अरुण उत्तर प्रदेशको मेरठबाट विजयी भएका छन् । भाजपाको टिकटमा चुनाव लडेका अरुण गोविलले सपा नेता सुनिता वर्मालाई १०,५८५ मतले हराए । अरुणले ५ लाख ४६ हजार र सुनीताले ५ लाख ३५ हजार भोट पाए ।
अभिनेता तथा पाश्र्व गायक सुरेश गोपी पनि केरलाको त्रिशूर सिटबाट चुनाव जितेका छन् । उनको प्रतिस्पर्धी कम्युनिस्ट पार्टीका नेता वी.एस. सुनिल कुमार थिए । गोपीले ४ लाख १२ हजार र वीएसले ३ लाख ३७ हजार मत पाए ।
युवा नेता कन्हैया कुमारलाई भाजपा उम्मेदवार तथा भोजपुरी फिल्म क्षेत्रका अभिनेता तथा गायक मनोज तिवारीले पारजित गरेका छन् । उत्तरपूर्वी दिल्ली सीटमा मनोज १३ हजार ७ सय ७८ मतले विजयी भएका हुन् । मनोजले ८ लाख २४ र कन्हैयाले ६लाख ८५ हजार मत पाए ।
उत्तर प्रदेशको गोरखपुर सिटबाट भोजपुरी स्टार रवि किशन समाजवादी पार्टीकी नेतृ काजल निषादलाई पराजित गर्दै विजयी भएका छन् । रवि १ लाख मतान्तरले विजयी भए । उनले ५ लाख ८५ हजार मत पाए भने काजलले ४ लाख ८२ हजार मत पाइन् ।
अभिनेत्री सायोनी घोष पश्चिम बंगालको जाधवपुरबाट चुनाव लडेकी थिइन् । उनले भाजपा नेता अनिर्बान गांगुलीलाई २,५८,२०१ मतले पराजित गरेकी छन् ।
बंगाली सिनेमाकी अभिनेत्री शताब्दी रोयले भाजपा नेता देवतनु भट्टाचार्यलाई ठूलो अन्तरले पराजित गरेकी छन् । अभिनेत्री तृणमूल कांग्रेसको टिकटमा पश्चिम बंगालको वीरभूमबाट चुनाव लडेकी थिइन् । शताब्दीले ७ लाख १७ हजार भोट पाइन्, देवतनुले ५ लाख २० हजार भोट पाए ।
बंगाली अभिनेत्री रचना बनर्जी पश्चिम बंगालको हुगली सिटमा विजयी भएकी छन् । उनले तृणमूल कांग्रेसको तर्फबाट चुनाव लडेकी थिइन् । उनको विपरीत अभिनेत्री तथा राजनीतिज्ञ लकेट चटर्जी थिइन् ।
बंगाली सिनेमामा देव भनेर चिनिने अभिनेता दीपक बनर्जीले पनि पश्चिम बंगालको घाटाल सिट जितेका छन् । तृणमूल कांग्रेसको तर्फबाट चुनाव लडेका अभिनेताले भाजपा नेता हिरण्मय चट्टोपाध्यायलाई पराजित गरेका हुन् ।
यी सेलिब्रेटीले हारे चुनाव
वरिष्ठ अभिनेता राज बब्बरले हरियाणाको गुरुग्रामबाट चुनाव लडेका थिए । उनको अगाडि भाजपा नेता राव इन्दरजीत सिंह थिए । सिंहले बब्बरलाई ७५ हजार ०७९ मतले पराजित गरेका छन् ।
भोजपुरी स्टार पवन सिंह बिहारको कराकट सिटबाट ९९ हजार २५६ मतले पराजित भएका छन् । उनी स्वतन्त्र उम्मेदवार बनेका थिए । यस सिटमा कम्युनिष्ट पार्टीका नेता राजाराम सिंह विजयी भएका छन् ।
भाजपा चुनाव लडेका भोजपुरी स्टार दिनेशलाल यादव निरहुआ पनि १ लाख ६१ हजार ३५ मतले पराजित भएका छन् । उनी सपा नेता धर्मेन्द्र यादवसँग पराजित भएका हुन् । एजेन्सी
प्रतिक्रिया