सरकारले स्वास्थ्य सेवा शुल्क तोक्नुपर्छः तोसिमा कार्की
रास्वपा सांसद एवं पूर्व स्वास्थ्यराज्यमन्त्री डा. तोसिमा कार्कीले सरकारी तथा निजी क्षेत्रको अस्पतालहरुमा स्वास्थ्य सेवा शुल्क निर्धारण गर्न सरकारसँग माग गरेकी छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले स्वास्थ्यकर्मीको दरबन्दी थप्ने र त्यसको व्यवस्थापन गर्ने काममा पनि सरकारल ढिलाई गर्न नहुने बताइन् । उनले मुलुकको स्वास्थ्य क्षेत्र लथालिंग भएकाले त्यसको नियमनमा उचित ध्यान दिन पनि सरकारलाई सचेत गराइन् ।
‘स्वास्थ्य क्षेत्रलाई त सरकारले कहिल्यै पनि प्राथमिकतामा नराखेको हो कि भनेजस्तो मलाई भान हुन्छ । हुन त झट्ट हेर्दाखेरी ८६ अर्ब २४ करोड बजेट राखिएको छ । जुन गत वर्षको भन्दा २ अर्ब २५ करोड बढेको हो । तर कुल बजेटको प्रतिशत हेर्दा ४.६४ प्रतिशत मात्र छ । कोभिडको समयमा ८.६ प्रतिशत पुगेको थियो । जुन अहिलेसम्मका हिष्ट्रीमा धेरै हो । त्यो पनि अपर्याप्त छ । विश्व स्वास्थ्य संगठनले नेपाल जस्तो विकासोन्मुख मुलुकमा १० प्रतिशत बजेट छुट्टयाउनु स्वास्थ्यतर्फ भनेर स्पष्ट भनेको छ । जुन हामीले पटक पटक भन्दै आएका छौं । तर त्यसतर्फ सरकारको कुनै प्राथमिकता परेको जस्तो मलाई लागेको छैन,’ कार्कीले भनिन् ।
सांसद कार्कीले आइटी पार्क बनाउने कुरा असफल भइसकेकाले त्यसमा जोड दिने काम नगर्न पनि सरकारलाई सुझाव दिइन् ।
प्रतिक्रिया