नेपालमा ब्रिटिस लगानीका लागि अध्यक्ष ढकालको अनुरोध
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा ब्रिटिस लगानी बढाउनका लागि सहजीकरण गरिदिन अनुरोध गरेका छन् ।
नेपालका लागि बेलायती राजदूत रोब फेनसँगको भेटका अवसरमा उनले सो आग्रह गरेको महासंघद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
निजी क्षेत्रले कुल गार्हस्थ्य उत्पादनमा ८१ प्रतिशत र रोजगारीमा ८७ प्रतिशत योगदान पुराइरहेको अवस्थाबारे पनि उनले राजदूतलाई जानकारी गराएका थिए । ढकालले मुलुकमा व्यवसाय गर्न सहज वातावरण भएको पनि उल्लेख गरेको जनाइएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको सल्लाहमा सरकारले लगानी प्रक्रियालाई सहज बनाउन केही समयअघि मात्र लगानी ऐन परिमार्जन गरेको उनको भनाइ थियो । ढकालले राजदूत फेनलाई नेपालमा जलविद्युत्, सूचना प्रविधि, पूर्वाधार र पर्यटन क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको जानकारी पनि राजदूतलाई गराएका थिए ।
भेटवार्ताका क्रममा महासंघ उपाध्यक्ष हेमराज ढकाल, संघका लगानी फोरमका सभापति मनोज पौडेल र महासंघका महानिर्देशक गोकर्णराज अवस्थीले नेपालमा लगानीका नयाँ सम्भावनाबारे जानकारी गराएका थिए । भेटका अवसरमा राजदूत फेनले द्विपक्षीय लगानी सम्झौताको खाका तयार पार्न पहल गरेकोमा नेपाल उद्योग वाणिज्य महासंघलाई धन्यवाद ज्ञापन गरे । उनले दोहोरो करमुक्ति सम्झौताबारे पनि चासो राखेका थिए ।
प्रतिक्रिया