कांग्रेस सांसदको प्रश्नः हाफपाइन्ट र चप्पल लगाएर आउने नागरिकलाई संसद प्रवेशमा किन बन्देज ?
कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले सिंहदरबारमा सर्वसाधारण जनतालाई हाफपाइन्ट र चप्पल लगाएर प्रवेश गर्न नदिइएको भन्दै सरकारको जवाफ माग गरेकी छन् ।
आइतबारको प्रतिनिधि सभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद न्यौपानेले संसद भवनमा सर्वसाधारण जनतालाई चप्पल र हाफपाइन्ट लगाएर प्रवेश नदिएको भन्दै आपत्ति जनाएकी हुन् । उनले सांसदहरुले जुनसुकै प्रकारको पोशाक लगाएर पनि आउनसक्ने तर सर्वसाधारणको पोशाक हेरेर रोकिने गरेको भन्दै त्यसो गर्नु नहुने बताइन् । उनले सांसद र मन्त्रीहरुले कस्तो पोशाक लगाएर आउनुपर्ने हो भन्ने रुलिङ हुनुपर्ने बताइन् ।
‘यो संसदमा मर्यादित ड्रेस लगाएर आउने हामी कति जना छौँ ? हामी साडीमा आउँछौँ कि ? कोट, पाइन्ट, टाई लगाएर आउँछौँ कि ? आफ्नो मातृ ड्रेस लगाएर आउँछौ कि ? आज यो संसदमा कोही फ्रक लगाएर आउनुभएको छ । कोही टिसर्ट र पाइन्ट लगाएर आउनुभएको छ । कोही जम्पर लगाएर आउनु भएको छ । हामीलाई चाहीँ सबै छुट ? अनि जनतालाई चाहीँ त्यसमा बन्देज ? नियम बनाउने हामी माननीयले चाहीँ जस्तो लगाएर यहाँ आए पनि भयो । नौरंगी फेसन लगाएर आए पनि हुन्छ हामीले चाहिँ केही गर्नु नपर्ने ? विचरा जनताहरु हाफपाइन्ट लगाएर प्रवेश नपाउने सिंहदरबारको ढोकामा । चप्पल लगाएर हेर्न नपाउने संसद भवनमा । अत्यन्तै अफ्ठ्यारो विषय हो । सर्वसाधारण जनतालाई के कारणले रोक्यो त्यसमा म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भनिन् ।
उनले सर्वसाधारण जनतालाई पोशाकका कारण सिंहदरबार र संसद भवन दुवै ठाउँमा रोकिएको भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराइन् ।
प्रतिक्रिया