एक गाग्री पानीका लागि रातभर जाग्राम

खानेपानी खानेपानी अभावका कारण महोत्तरीका गृहिणी रातभरि जाग्राम बस्नुपरेको छ । अत्यधिक गर्मी र सुख्खा मौसमका कारण पानीको सङ्कट चुलिँदै जाँदा यहाँका गृहिणीले पानीको जोहो गर्न रातभरि जाग्राम बस्नुपरेको हो ।

तीन दिनयता दिनभरि धारामा पानी झरेको छैन, राति झर्छ कि भन्ने आशमा धाराछेउमा पानी पर्खेर रात कटाइयो, बर्दिबास–२ ॐ शान्तिचोककी गृहिणी फूलमाया मगरले भनिन्, धन्न, गए राति मध्यराततिर धारामा तुरुरु पानी झरेपछि जाग्राम बसेको प्रतिफल मिल्यो ।

फूलमायाजस्तै उनका छिमेकी पर्मिला ठाकुर, नगिना महतो र वृन्दा भण्डारीले पनि मध्यराततिर बोतल, गाग्री, तसला, बाल्टिनसहितका भाडामा पानी भरेपछि एक दिनलाई ढुक्क भएको बताए।

पानीका मुहान सुक्दै जाँदा यहाँका बस्तीमा पानीको सङ्कट पनि बढ्दै गएको छ । धारामा पानी आउँदैन, आए पनि गाग्री, बाल्टिन वा जार भरिँदैनन् । पानीको सङ्कट गहिरिदैँ जाँदा पूर्वपश्चिम रेल आयोजनाको भब्सीपुल नजिक रहेको बोरिङमा पानी थाप्नेको भीड लाग्ने गरेको छ ।

बस्ती क्षेत्रबाट पाँच सय मिटर दूरीमा रहेको सो बोरिङमा घाम अस्ताएपछि भने कोही जाँदैनन् । रेल्वेसम्बन्धी निर्माणकार्य प्रयोजनका लागि पानी आपूर्ति गर्न जडान गरिएको बोरिङले अहिले निकैलाई राहत भएको बर्दिबास–१४ लच्काचोकका गौरी साह बताउँछिन् ।

यसैगरी बर्दिबास जलेश्वर सडकखण्डको बर्दिबास–२ लच्काबाट बुद्धचोकसम्म ढल निर्माणको छ । निर्माणकार्यका लागि त्यहाँ ठूलो ट्याङ्कीमा ल्याइने पानीमध्ये बचेखुचेको स्थानीयलाई दिन केही राहत मिलेको सोही वडाको दर्लामीटोलकी यशोदा तिमल्सिनाले बताइन् ।

पानीको हाहाकार परेकै बेला ढल बनाउने काम परेछ । चाहिनेजति नपाए पनि घाँटी भिजाउनका लागि भए पनि पानी पाएपछि निकै राहत मिलेको छ, उनले भनिन् ।

बर्दिबासका १, २, ३, ४, ५, ६, ८ , १०, ११ र १४ नम्बर वडाका नागरिक खानेपानीका लागि धारामा आश्रित छन् तर भण्डारणकक्षमा पानी घट्दै गएपछि पालो मिलाएर पानी वितरण गर्न थालिएको बर्दिबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ ।

संस्थाका कोषाध्यक्ष भोजप्रसाद फुयाँलले पानीको स्रोतका रूपमा रहेका नदी र खोला सुकेपछि भण्डारणमा निकै कमी आएको उनले बताए । अब पानीका स्रोतहरुको वैकल्पिक खोजी नभए आउने दिन अझै कष्टकर बन्ने उनको भनाइ छ ।

महोत्तरीमा जेठ लागेदेखि नै पानी घट्दै गएको हो । जेठको मध्ययता त हाहाकार नै परेको बर्दिबास–१२ चल्कीबिजलपुराका नवराज कोइराला बताउँछन् । बर्दिबासका ७, ९, १२ र १३ नम्बर वडाबस्तीमा खानेपानीका लागि इनार र चापाकल मुख्यस्रोत हुन् । बर्दिबास–१२ मेघरोल र जुडीटोलमा चापाकल प्रयोग हुँदै आएको छ । मेघरोल बस्तीका विशुनदेव राय दनुवारले अहिले इनारमा र चापाकल पानी सुकेका बताए ।

पानीका मुहान सुक्दै गएपछि मानिसमात्र नभएर अहिले घरपालुवा पशु, चराचुरुङ्गी र वन्यजन्तुले पनि पानीको सङ्कट झेल्दैछन् । यसैगरी बालीनाली पहेँलिएर सुक्न थालेका छन् । यहाँका बस्तीबस्तीमा अहिले खानेपानीको सङ्कट बढेको छ ।

बर्दिबास–९ पशुपतिनगरका ६० वर्षीय महेन्द्र महतोको घर अगाडिको इनारमा पानीका लागि झारिएको डोल डुब्न छाडिसक्यो । उनले भने, गर्मी अचाक्ली बढेको छ, पानीका स्रोत धमाधम सुक्दैछन्, अब पानीको सङ्कट निकै बढ्लाजस्तो छ । अब इनारले पानी ख्वाउला भन्ने आश मर्यो । लगत्तै पानी नपर्ने हो भने आजभोलिमै इनारमा पानी स्याप्पै सुक्छ होला । पछिल्ला केही वर्षयता बर्सेनिजसो यस्तै सङ्कट भोग्नुपरेको महतोले बताए ।

जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ वटै स्थानीय तहमा पानीको अभाव बढ्दै गएको छ तर जिल्लाका उत्तरीक्षेत्रका बर्दिबास, भङ्गाहा र गौशाला नगर क्षेत्रमा भने समस्या थप विकराल बन्दैछ । बर्दिबास–२ का रामबाबु धमला पानीका मुहान सुक्दै गएपछि धाराबाट पानी कतिखेर चुहिन्छ भनेर ताक हेर्नुपर्ने अवस्था आएको बताए ।

यसैगरी भङ्गाहा नगरपालिकाका– ३, ४ , ५ र ९ मा इनार र चापाकल सुकेपछि निकै समस्या छ । भङ्गाहाकै १, २, ६, ७ र ८ का आर्टिजिन बोरिङबाट पानी झर्न छाडेको भङ्गाहा–८ धर्मपुरका उपेन्द्र चौधरी थारू बताउँछन् । भङ्गाहाका यी वडाबाहेक आर्टिजिन बोरिङ्ग खानेपानीका स्रोत रहेका बलवा, लोहारपट्टी, रामगोपालपुर र औरही नगरपालिकामा पनि पानी झर्ने मात्रा निकै घटेको स्थानीय बताउँछन् ।

यसैगरी गौशाला नगरपालिका क्षेत्रमा एकपछि अर्को इनार र चापाकल सुक्दैछन् । पानीका लागि साइकलमा गाग्री झुण्ड्याएर परपर जानुपरेको गौशाला–६ का तेजनारायण यादव बताउँछन् । जिल्लाका मध्य र दक्षिणी क्षेत्रमा हाहाकारै परी नसके पनि सो क्षेत्रका खानेपानीको स्रोत चापाकल धमाधम सुक्दै गएका उनले बताए ।

बस्तीमा पोखरी, डबराडबरी ९साना पोखरी० सबैजसो सुकिसकेका छन्, यसले पशुभाउ बचाउन निकै सकस भएको पशुपालक किसान हीरादेवी दाहालले गुनासो गरे । यसका साथै वनक्षेत्रका पानी अडिने खाल्डाखुल्डी, जरुवा र डबरा सबै सुकेपछि चराचुरुङ्गी र वन्यजन्तु जोखिममा परेका छन् ।

पुरानो चारकोशे झाडी (फार्लाइन पनि भनिन्छ) मा पानी नभेटेपछि पानीको खोजमा वन्यजन्तु बस्ती पसेका छन् । हरिण, मृग, जरायोसहितका जनावर उत्तरको चुरे काछतिर र बँदेल, नीलगाई र दुम्सीलगायतका वन्यजन्तु दक्षिणका सघन बस्तीमा पसेका छन् । यसरी पानीको खोजमा बस्ती पसेका वन्यजन्तुले बालीनाली नोक्सान गरिदिँदा किसान दोहोरो मारमा परेका छन् ।

यहाँ मान्छे र घरपालुवा जनावर जोगिन हाहाकार परेका बेला वन्यजन्तु पनि थपिएका छन्, बलवा–१० धमौराका उत्तिम माझी भन्छन्, पानीकै सङ्कटबीच बाली पनि जोगाउन सकिएको छैन । डिभिजन वन कार्यालय महोत्तरीले पानीको सङ्कट चुलिदै जाँदा पानीको खोजमा टाढाटाढा जान थालेपछि वनक्षेत्रमा वन्यजन्तु देखिन छाडेका जनाएको छ ।

“यहाँ वनभित्रका ताल, ससाना पोखरी, खोल्साखोल्सी र जरुवा पानीका मुहान सबै सुकेका छन्, वनभित्र पानी भेटिन छाडेको छ”, कार्यालय प्रमुख सन्तोषकुमार झा भन्छन्, मान्छेमात्रै होइन यहाँ वन्यजन्तु जोगाउन पनि गम्भीर सङ्कट आउँदै छ ।

पछिल्ला केही दिनयता बढेको अत्यधिक गर्मीले जनजीवन कष्टकर छ, त्यसैमा पानीको समस्या थपिएको छ । बालीनाली तथा लहरा पहेँलिएर खङरङ्ग सुक्दै छन् । यो अवस्थाले पिरोलिएका नागरिक आकाशतिर फर्केर पानी पारिदिन ईश्वर पुकार्नुभन्दा अर्को विकल्प नभएको बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर