सहकारी रकम हिनामिनाको आरोपमा राप्रपा सांसद बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिँदै

सरकारी वकिल कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले छिपछिपे उपभोक्ता सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा एक सांसदसहित ३५ जनालाई विपक्षी बनाएर मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।

नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका ३ मा कार्यालय रहेको छिपछिपे सहकारीको रु १६ करोड ५८ लाख ९२ हजार दुई सय ६१ हिनामिना गरेको ठहर गर्दै प्रहरीले ३५ जनाविरुद्ध मुद्दा चलाउन रायसहितको अनुसन्धान प्रतिवेदन बुझाएको आधारमा सरकारी वकिलको कार्यालयले आज मुद्दा दर्ता गर्न लागेको हो ।

जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले प्रहरी प्रतिवेदनका आधारमा राप्रपा सांसद गीता बस्नेतसहित उनका ज्वाइँ, हालका व्यवस्थापक, सञ्चालक समितिका अध्यक्षसहित ३५ जनालाई विपक्षी बनाएर मुद्दा दर्ता गर्न लागिएको जानकारी दिए ।

‘प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमासहकारीको रकम हिनामिना गरेको आरोपमा राप्रपा सांसद गीता बस्नेत, उनका ज्वाइँ नगेन्द्रबहादुर रिमाल, हालका व्यवस्थापक योगेन्द्र पाण्डे, सञ्चालक समितिका हालका अध्यक्ष गोपी शर्मासहित ३५ जनालाई विपक्षी बनाएर मुद्दा दायर गर्ने तयारी गरेका छौ,’ उनले भने ।

गत हप्ता जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले सहकारीमा हिनामिना भएको १६ करोड ५८ लाख ९२ हजार दुई सय ६१ रुपियाँ बराबरको बिगो, जरिवाना, हर्जना र जेल सजाय माग दाबी गर्दै अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

प्रतिवादी बनाइएकामध्ये १० जना अहिले प्रहरीको हिरासतमा र अन्य २५ जना फरार रहेका छन् । विसं २०६६ सालमा स्थापना भएको यो सहकारीमा २३ सय ९३ जना बचतकर्ता र सेयर सदस्य रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर