कृषि बिमा कार्यक्रम पुन: सुचारु, सरकारले ९७ करोड अनुदान तत्काल दिने

सरकारले अनुदानको बक्यौता दिने प्रतिबद्धता गरेपछि निर्जीवन बिमा कम्पनीहरूले शुक्रबारदेखि कृषि तथा पशुपक्षी बिमाको कारोबार सुचारु गर्ने भएका छन् । सरकारले अनुदानको बक्यौता नदिएको भन्दै कम्पनीहरूले १ चैतबाट कृषि बिमाको कारोबार बन्द गरेका थिए । बिहीबार कृषि तथा पशुपक्षी विकास मन्त्रालयले तत्काल ९७ करोड बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता जनाएपछि बिमा कम्पनीहरूले शुक्रबारदेखि पुनः कारोबार सुुचारु गर्ने भएका हुन् । सरकारले अनुदानबापतको रकम कम्पनीहरूलाई दुई अर्ब १७ करोड दिन बाँकी छ ।

एनएलजी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सुनीलवल्लभ पन्तले शुक्रबारदेखि कृषि तथा पशुपक्षी बिमाको कारोबार सुरु गर्ने बताए । ‘मन्त्रालयले तत्काल ९७ करोड रुपैयाँ र चालू आवमै बाँकी बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता गरेको छ । मन्त्रीज्यू (ज्वालाकुमारी शाह) यसमा एकदमै गम्भीर देखिनुभएको छ । सरकारको अनुरोधलाई अस्वीकार गर्न पनि सकिएन,’ उनले भने, ‘यता किसान पनि मर्कामा परिरहेका छन् । तसर्थ, शुक्रबारदेखि कारोबार सुरु गर्छाैँ । तर, सरकारले आफ्नो प्रतिबद्धता पूरा गर्नुपर्छ ।’ विवाद समाधान गर्न बिहीबार भएको छलफलमा मन्त्री ज्वालाकुमारी शाहसहित नेपाल बिमा प्राधिकरण र बिमा कम्पनीहरूलगायतका प्रतिनिधिको उपस्थिति थियो । छलफलमा मन्त्री शाहले बाँकी रकम चालू आवभित्रै भुक्तानी गर्ने बताएकी थिइन् ।

गत चैतमा सरकारले अनुदानको ४६ करोड ४१ लाख रुपैयाँ भुक्तानी दिएको थियो । त्यसपछि पनि अनुदानबापत सरकारले बिमा कम्पनीहरूलाई दुई अर्ब १७ करोड रुपैयाँ दिनुपर्नेछ । त्यसमा तत्काल ९७ करोड रुपैयाँ भुक्तानी गर्ने प्रतिबद्धता मन्त्रालयले गरेको छ । मन्त्रालयसँग यो शीर्षकमा बजेट नभएपछि अर्थ मन्त्रालयबाट रकमान्तरको स्वीकृत लिएर बक्यौता भुक्तानी गर्न लागिएको हो । मन्त्रालयकी प्रवक्ता सबनम सिवाकोटी अर्यालले ९७ करोड रकमान्तरको स्वीकृत पाइसकेको बताइन् । अब आवश्यक प्रक्रिया पूरा गरेर कम्पनीलाई भुक्तानी गरिने उनको भनाइ छ । बाँकी एक अर्ब २० करोड पनि सकेसम्म छिटो भुक्तानी गरिने उनले बताइन् ।

सरकारले गत आव ०७९/८० को माघयताकै अनुदान दिन बाँकी छ । अनुदान रकम नपाएपछि यसअघि पनि कम्पनीहरूले गत २७ जेठदेखि ६ असार ०८० सम्म कारोबार स्थगित गरेका थिए । त्यसवेला झन्डै तीन अर्ब बक्यौता थियो । सरकारले गत असारभित्रै बक्यौता भुक्तानी गर्ने प्रतिबद्धता गरेपछि कम्पनीहरूले ७ असारबाट यसको कारोबार सुचारु गरेका थिए ।

 १० महिनामा एक अर्ब ६८ करोडको कारोबार 
निर्जीवन बिमा कम्पनीहरूले चालू आर्थिक वर्ष ०८०/८१ को १० महिनामा कृषि तथा पशुपक्षी बिमाअन्तर्गत एक अर्ब ६५ करोड ५० लाख रुपैयाँ बिमाशुल्क संकलन गरेका छन् । गत आवभरमा बिमा कम्पनीहरूले दुई अर्ब ३१ करोड ४७ लाखबराबरको यस्तो कारोबार गरेका थिए । यसपटक कारोबार बन्द गर्दा व्यवसायमा कमी आएको छ । साथै, आर्थिक शिथिलताका कारण पनि किसानले बिमा गर्न नसकेको नेपाल बिमक संघका अध्यक्ष चंकी क्षेत्रीले बताए । यो रकममा सरकारबाट आउने ८० प्रतिशत अनुदान रकम जोडिएको नेपाल बिमा प्राधिकरणबाट प्राप्त तथ्यांकले देखाएको हो ।

समीक्षा अवधिमा कोशी प्रदेशबाट १६ करोड ८९ लाख ६ हजार रुपैयाँबराबरको यस्तो बिमाशुल्क उठेको छ । यसैगरी, मधेशबाट १६ करोड ५२ लाख ४२ हजार रुपैयाँ, बागमती प्रदेशबाट ६० करोड १४ लाख ७४ हजार रुपैयाँ र गण्डकी प्रदेशबाट १७ करोड तीन लाख ३५ हजार रुपैयाँ बिमाशुल्क उठेको छ । यसैगरी, लुम्बिनी प्रदेशबाट १९ करोड ९४ लाख ८३ हजार रुपैयाँ, कर्णाली प्रदेशबाट ३२ करोड ७५ लाख ५१ हजार र सुदूरपश्चिम प्रदेशबाट पाँच करोड २० लाख ३३ हजार रुपैयाँ कृषि बिमाशुल्क संकलन भएको छ । समीक्षा अवधिमा निर्जीवन बिमा कम्पनीहरूको कुल बिमाशुल्क संकलन ३३ अर्ब ६ करोड ८७ लाख रुपैयाँ छ । निर्जीवन बिमा व्यवसायमा कृषि बिमाको हिस्सा ५ प्रतिशत रहेको छ ।

समीक्षा अवधिमा कृषि तथा पशुपक्षी बिमातर्फ एक लाख १४ हजार पाँच सय १३ वटा पोलिसी बिक्री भएका छन् । त्यसमा कोशी प्रदेशमा ११ हजार पाँच सय ५९ वटा बिमा पोलिसी बिक्री भएका छन् । यसैगरी मधेश प्रदेशमा आठ हजार नौ सय ५१, बागमती प्रदेशमा ४६ हजार पाँच सय २१, गण्डकी प्रदेशमा १२ हजार ६ सय ५२ र लुम्बिनी प्रदेशमा १९ हजार नौ सय १२ वटा पोलिसी बिक्री भएका छन् । यसैगरी, कर्णालीमा ११ हजार १६ र सुदूरपश्चिममा तीन हजार नौ सय दुईवटा यस्ता पोलिसी बिक्री भएका छन् । यो समाचार आजको नयाँपत्रिका दैनिकमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर