रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याउँछ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्ञान, पुँजी, सीप र प्राविधिक क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले रोजगार बैंकको अवधारणा कार्यान्वयनमा ल्याउने बताएका छन् ।

आज विराटनगरमा आयोजित श्रमाधान रोजगार मेलालाई सम्बोधन गर्दै उनले वैदेशिक रोजगारीबाट फर्किएकाहरू वा नेपालमै रहेको श्रम, सीप र अनुभवको उपयोग गरी उद्यमशीलता विकास गरिने बताए ।

‘वैदेशिक रोजगारीबाट फर्किएका वा नेपालमै रहेको श्रम सीप र अनुभवको उपयोग गरी उद्यमशीलता विकास गर्न तथा रोजगारीको माग र आपूर्तिको विषयमा काम गर्ने रोजगार बैंकको अवधारणा सरकारले कार्यान्वयनमा ल्याउँदै छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘एक लाख रिटर्नीहरूलाई उनीहरूको ज्ञान, पुँजी, सीप र प्रविधि क्षमताअनुसारको रोजगारी सुनिश्चित गर्न सरकारले बजेटमा आवश्यक प्रबन्ध गरेको छ ।’

दीगो विकासका लक्ष्य तथा सरकारको अन्य नीति तथा योजनाले परिकल्पना गरेअनुरूप श्रम क्षेत्रमा पनि स्वास्थ्य र आरोग्यताका लागि काम गरी श्रमिकको हकहित संरक्षण गरिने जनाउँदै प्रधानमन्त्री प्रचण्डले रेमिटे्यान्सबाट अर्थतन्त्रको उत्पादनशीलता वृद्धि गरी आन्तरिक रोजगारी बढाउन सरकार लागि परेको बताए ।

उनले सबै क्षेत्रको संयोजन गरी तत्कालका लागि सुरक्षित र उपलब्धिमूलक वैदेशिक रोजगारी र दीर्घकालीन रूपमा आन्तरिक रोजगारी बढाएर देशको समृद्धि र नागरिकको सन्तुष्टि वृद्धि गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर