पक्राउ पुर्जीविरुद्ध सर्वोच्चमा सिरोहियाको रिट

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले पक्राउ पुर्जी जारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् । सर्वोच्चका सहायक प्रवक्ता गोविन्द घिमिरेले रिटमा अध्ययन भइरहेको जानकारी दिए ।

रिटमा उनले आफूविरुद्धको पक्राउ पुर्जी पूर्वाग्रहपूर्ण र मिडियामाथिको हस्तक्षेप उल्लेख गर्दै पक्राउ पुर्जी खारेज गर्न माग गरेका छन् ।

आज नै नागरिकता दुरुपयोगको उजुरीमा धनुषा जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सिरोहियाविरुद्ध गत वैशाख १६ मा जिल्ला प्रहरी कार्यालय धनुषामा नागरिकता दुरुपयोगको उजुरी परेको थियो ।

सिरोहियाले यसअघि नै सर्वोच्च अदालतमा प्रतिषेधको रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्चले सुनुवाइ गर्दै गृहम मन्त्रालयसँग अनुसन्धान गर्नुपर्ने कारण माग गरेको छ ।

सिरोहियाले आफूविरुद्ध राज्यशक्तिको दुरुपयोग गरेर प्रतिशोध लिन खोजिएको बताएका छन् । पक्राउ पुर्जी जारी भएपछि वक्तव्य जारी गर्दै सिरोहियाले कान्तिपुरले लेख्दै आएको सहकारी ठगीसम्बन्धी समाचार रोकाउन आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको बताएका हुन् ।

‘सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमको जिम्मेवारी हो, कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरुद्ध आफैं उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउपुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन,’ उनले उल्लेख गरेका छन् ।

राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप विचलित नहुने पनि सिरोहियाले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *