कान्तिपुरका अध्यक्ष सिरोहिया प्रहरीको नियन्त्रणमा

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, मीनभवनका प्रमुख एसएसपी सानुराम भट्टराई नेतृत्वको प्रहरीले टोलीले आज सिरोहियालाई थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको मुख्य कार्यालय सेन्ट्रल बिजनेस पार्कबाट नियन्त्रणमा लिएको हो । उनलाई नियन्त्रणमा लिने क्रममा दर्जनौंको संख्यामा प्रहरी खटाइएको थियो ।

आज नै नागरिकता दुरुपयोगको उजुरीमा धनुषा जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । सिरोहियाविरुद्ध गत वैशाख १६ मा जिल्ला प्रहरी कार्यालय धनुषामा नागरिकता दुरुपयोगको उजुरी परेको थियो ।

सिरोहियाले यसअघि नै सर्वोच्च अदालतमा प्रतिषेधको रिट दायर गरेका थिए । उक्त रिटमा सर्वोच्चले सुनुवाइ गर्दै गृह मन्त्रालयसँग अनुसन्धान गर्नुपर्ने कारण माग गरेको छ ।

सिरोहियाले आफूविरुद्ध राज्यशक्तिको दुरुपयोग गरेर प्रतिशोध लिन खोजिएको बताएका छन् । पक्राउ पुर्जी जारी भएपछि वक्तव्य जारी गर्दै सिरोहियाले कान्तिपुरले लेख्दै आएको सहकारी ठगीसम्बन्धी समाचार रोकाउन आफूविरुद्ध पक्राउ पुर्जी जारी भएको बताएका हुन् ।

‘सहकारीका ७१ लाख सदस्य तथा बचतकर्ताको पसिनाको कमाइ सुरक्षित गर्न यसमा ठगी गर्नेहरूमाथि अनुसन्धान र कारबाही हुनुपर्ने आवाज उठाउनु कुनै पनि सञ्चारमाध्यमको जिम्मेवारी हो, कान्तिपुरको समाचार रोकाउन ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न मेराविरुद्ध आफैं उजुरी गर्न लगाएर, सोधपुछसमेत नगरी पक्राउ पुर्जी जारी गर्ने हर्कत गरिएको हो भन्नेमा शंका छैन,’ उनले उल्लेख गरेका छन् ।

राज्यशक्तिको दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट आफू अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप विचलित नहुने पनि सिरोहियाले बताएका छन् ।

कान्तिपुरकाे कार्यालयमा पत्रकार महास‌ंघका अध्यक्ष विपुल पाेखरेलसहित मुख्य दैनिक र अनलाइन पत्रिकाका सम्पादकहरुकाे उपस्थितीमा प्रहरीले अध्यक्ष सिराेहियालाई नियन्त्रणमा लिएकाे हाे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *