गृहमन्त्रीको प्रस्तुति गैरजिम्मेवार छ, प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँछौंः कांग्रेस

प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग पुनः दोहो¥याएको छ ।

कांग्रेस सदंसदीय दलको आज संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछाने संलग्न रहेको स्पष्ट प्रमाण देखिएको जनाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्न पुनः माग गरेको हो । बैठकपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सहकारीमा गृहमन्त्री लामिछानेको संलग्नताको विषय सञ्चारमाध्यममा आएको विषय मात्र नभई प्रहरीले छानबिन गरेको र जिल्ला अदालतमा दायर गरेको अभियोगको विषय भएको जानकारी दिए ।

‘सहकारीको रकम अपचलनमा छानबिन गर्न र संलग्नलाई कडा कारबाही गर्न स्वतन्त्र निष्पक्ष समिति गठन गर्नुपर्ने भन्ने हाम्रो बटम लाइन हो । प्रतिनिधिसभाको आइतबारको बैठकमा गृहमन्त्री लामिछानेले लगाएका आरोप असत्य, भ्रामक र कपोलकल्पित हुन्,’ उनले भने ।

प्रमुख सचेतक लेखकले गृहमन्त्री लामिछानेले सदनमा अर्कालाई प्रश्न गर्ने नभई आफूमाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने बताए । गृहमन्त्री लामिछानेको गैरजिम्मेवार भनाइ र प्रस्तुतिका सन्दर्भमा कांग्रेसले प्रधानमन्त्रीकोसमेत ध्यानाकर्षण गराउने निर्णय गरेको छ । बैठकले गृहमन्त्री लामिछानेले लगाएका आरोपलाई निष्पक्ष र स्वतन्त्र छानबिन गरी प्रमाणित गर्न खुला रहेकोसमेत निर्णय गरेको प्रमुख सचेतक लेखकले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर