हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति र विदेशमन्त्रीको मृत्यु
७ जेठ २०८१ १०:४९
हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रइसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ ।
आइतबार भएको हेलिकप्टर दुर्घटनामा राष्ट्रपति रइसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको इरानी सरकारी सञ्चारमाध्यमहरूले पुष्टि गरेका छन् ।
दुर्घटनामा इरानको पूर्वी अजरबैजान प्रान्तका गभर्नर मालेक रहमातीको पनि मृत्यु भएको छ । इरानी सञ्चारमाध्यमहरूका अनुसार हेलिकप्टरमा सवार ९ जनाकै मृत्यु भएको छ । दुर्घटनामा राष्ट्रपति सवार बेल-२१२ हेलिकप्टरको पछाडिको केही भागबाहेक सबै जलेको छ ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले समेत सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै इरानी राष्ट्रपति र विदेशमन्त्रीसँगै सबै यात्रुको मृत्यु भएको जनाएको छ । नाम उल्लेख नगरी इरानी उच्च अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ, ‘राष्ट्रपति रइसी, विदेशमन्त्री र सबै यात्रुको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ ।’
प्रतिक्रिया