जति पटक लिनु परे पनि विश्वासको मत पाउँछु : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहालले चौंथो पटक पनि आफूले विश्वासको मत पाउनेमा ढुक्क रहेको बताएका छन् ।
शनिबार माओवादीको पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रममा उनले जेठ ७ मा आफूले चौथो पटक विश्वासको मत लिन लागेको उल्लेख गर्दै जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुने जिकिर गरे । विश्वासको मत आउँदैन कि भन्ने चिन्ता नगर्न दाहालले आग्रह गरे ।
‘७ गते फेरि एक पटक विश्वासको मत लिने भनेर संसद सचिवालयमा विश्वासको मतको लागि पत्र पठाएको छु । ७ गतेको दिन विश्वासको मत लिनेछु । यो अवधिमा १३ पटक जति विश्वासको मत लिनुपर्ने परिस्थिति आएको देख्दैछु भनेर कांग्रेसको एक जना नेताले भन्नुभएको थियो, अहिले चौथो पटक लिनु परेको हुनाले यो पाँचौँ, छैटौं पटक लिनुपर्ने हो कि जस्तो त देखिन्छ तर जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुन्छ भन्ने कुरामा म विश्वस्त छु । धेरै टेन्सन लिनुपर्दैन । कहिले अलि बढ्छ, कहिले अलि घट्छ, घटबढ त भइराख्छ, तर विश्वासको मत प्राप्त हुन्छ । एक पटक त झन्डै शतप्रतिशत विश्वासको मत प्राप्त भयो र यो पटक पनि विश्वासको मत प्राप्त हुन्छ । म कुनै द्विविधामा छैन, तपाईंहरु पनि द्विविधामा पर्नु पर्दैन,’ दाहालले भने ।
प्रधानमन्त्री दाहालले सहकारीसँगको विषयलाई लिएर संसद अवरुद्ध भइरहेको भन्दै आइतबार बिहानसम्म सहज रुपबाट संसद सञ्चालन हुने दिशामा अघि बढ्ने विश्वास लिएको बताए । उनले आफूले संसदको अवरुद्ध हटाउन केही दिनयता छलफल गरिरहेको उल्लेख गर्दै सहमतिको तहबाट समाधान निकाल्ने योजना रहेको बताए ।
प्रधानमन्त्री दाहालले सरकारको अहिलेको काम राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्ततु भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई पास गर्नु रहेको बताए । बजेट नीति तथा कार्यक्रमको तादात्म्य मिलाइ ल्याउने गरी तयारी भइरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया