लोकतन्त्रमा विधि नै अराजकता र अन्याय निवारणको उपचार हो : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले लोकतान्त्रिक शासन प्रणालीमा विधि नै सबै किसिमको अराजकता र अन्यायको निवारणको उपाय र उपचार भएको बताएका छन् ।
काठमाडौंमा शुक्रवारबाट सुरु भएको १६ औं अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले विधिसम्मत न्याय प्रणालीबाट नै देशमा सुशासन र अमन चयन कायम हुने कुरालाई बिर्सिन नहुने बताए । उनले सच्चा न्यायका लागि स्वतन्त्रताको आवश्यक हुने र सुरक्षाको ख्याल नेपाल बारले पनि राख्नुपर्ने बताए ।
उनले लोकतान्त्रिक प्रणालीभित्र नै न्यायपालिका सक्षम हुने पनि बताए । राष्ट्रपति पौडेलले बार र बेन्च बीचमा बेला बेलामा छलफल र अन्तरक्रिया हुने गरे सही प्रतिफल प्राप्त हुने विश्वास व्यक्त गरे । उनले न्याय आफैँ हुने वा प्रकट भइहाल्ने कुनै चिज वा वस्तु नभई यो गरिने विषय भएको पनि बताए ।
न्याय भनेर मात्र पनि पुग्दैन । यो देखिनु, सुनिनु, बुझिनु र महसुस गरिनुपर्छ । संवैधानिक व्यवस्थाले विधिको शासन, लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, शक्ति पृथकीकरण, स्वतन्त्र, निष्पक्ष, सक्षम न्यायपालिका, कानुनी राज्य तथा मौलिक अधिकारप्रति सचेत हुन निर्देश गर्दछ । यसको सच्चा पहरेदार नेपाल बार एसोसिएसनसँग आवद्ध विद्वान कानुन व्यवसायी हुन् भन्ने विश्वास छ । न्यायपालिकाप्रतिको जनआस्था र विश्वास नै यसको जीवन हो । विभिन्न अभाव र समस्याले बोझिल न्यायपालिकालाई आधुनिक र प्रविधिमैत्री बनाई चुस्त बनाउन जरूरी छ, राष्ट्रपति पौडेलले भने ।
उनले न्याय दिने, दिलाउने पुनित कार्य न्यायका सिद्धान्त र परिभाषामा खोज्नुभन्दा कर्ताको कर्ममै प्रतिविम्बित हुनुपर्ने बताए । उनले न्यायपालिकालाई आधुनिक र प्रविधिमैत्री बनाई चुस्त बनाउन जरुरी रहेको पनि बताए ।
न्याय दिने, दिलाउने पुनित कार्य न्यायका सिद्धान्त र परिभाषामा खोज्नुभन्दा कर्ताको कर्ममै प्रतिविम्बित हुनुपर्छ । न्याय आफैँ हुने वा प्रकट भइहाल्ने कुनै चिज वा वस्तु नभइ यो गरिने विषय हो । यसको स्वच्छतामा न्यायाधीश र कानून व्यवसायको आफ्नै भूमिका रहने हुँदा बार र बेन्च बीचमा बेला बेलामा छलफल र अन्तरक्रिया हुने गरे सही प्रतिफल प्राप्त हुनेछ । न्यायपूर्ण जीवनशैली बोकेका वा अध्ययन अनुसन्धानमा तल्लिन कानुन व्यवसायी न्यायपालिकाको सहयोगी मात्रै होइन, त्यसको सारथी पनि हुन सक्दछ । त्यसका लागिसमर्पण र त्याग न्यायका लािग हुनुपर्छ । लोकतान्त्रिक प्रणालीभित्र नै न्यायपालिका सक्षम हुने हो । सक्षमताका निमित्त ऊ आफैँ निष्पक्ष, तटस्थ हुनुपर्छ र न्याय सम्पादनमा समरुपता हुनुपर्छ । सच्चा न्यायका लागि उसलाई स्वतन्त्रता पनि चाहिएको हुन्छ, त्यसको सुरक्षाको ख्याल नेपाल बारले पनि राख्नुपर्छ । लोकतान्त्रिक शासन प्रणालीमा विधि नै सबै किसिमको अराजकता, अन्यायको निवारणको उपाय र उपचार हो । विधि सम्मत न्याय प्रणालीबाट नै देशमा सुशासन र अमन चयन कायम हुने हो भन्ने कुरा बिर्सिन हुँदैन । विधिको पूर्ण पालनाबाट न्यायपूर्ण स्थिति बसाल्न कानुन व्यवसायीहरूको अग्रणी भूमिका हुन्छ, राष्ट्रपति पौडेलले भने ।
उनले विधिको पूर्ण पालनाबाट न्यायपूर्ण स्थिति बसाल्न कानून व्यवसायीहरूको अग्रणी भूमिका हुने बताए ।
प्रतिक्रिया