दलहरुमा सहमति जुटेन, कांग्रेसले संसद् अवरोध जारी राख्ने
प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसद् बैठक अवरोधलाई निरन्तरता दिने भएको छ ।
आज बिहान ११ बजे बस्ने बैठक स्थगित गरेर सहमति जुटाउन भन्दै दिउँसो ४ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको थियो । दलहरुका बीचमा सहमतिको प्रयास भएको भए पनि कांग्रेसले भने अनुरुपको संसदीय छानबिन समिति बनाउन सत्तारुढ दलहरु (सरकार) तयार नभएपछि कांग्रेसले अवरोध कायम राख्ने भएको छ ।
सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कांग्रेसकी सचेतक सुशीला थिङले सहमतिको बिन्दुमा पुग्न नसकिएको बताइन् । उनले सहमति जुट्न नसकेका कारण कांग्रेसले आफ्नो मागलाई यथास्थितिमा राख्दै बैठक अवरोध राख्ने जानकारी दिइन् ।
‘अहिले सहमतिको बिन्दुमा पुग्न सकेन । तत्काल हामी सदनमा यथावस्थामा आफ्नो माग राखेर उभिने पक्षमा छौँ । केही कुराहरु अपुग भयो । केही कुराहरु नसमेटिएको हुनाले केही समय चाहिएको जस्तो अनुभुति भएको छ । विषयवस्तु गृहमन्त्रीले बोल्नु र नबोल्नुमा सरोकार रहेन । हामीले राखेको सरोकार भनेको संसदीय छानबिन समिति गठन हुनुपर्छ । संसदीय छानबिन समिति डा. रामशरण महतदेखि जनार्दन शर्माको पालासम्म गठन हुने । अहिलेको पालामा चाहीँ नहुने भन्ने अभ्यास कहाँबाट सुरु गर्न खोजेको हो यो चाहिँ नमिलेको छ । सरकारमा संलग्न दलहरुको कारणले अड्किएको हो,’ उनले भनिन् ।
त्यस्तै कांग्रेसका सांसद डा. प्रकाशशरण महतले सरकार सहकारी ठगी प्रकरणमा छानबिन गर्न तयार भए पनि गृहमन्त्री रवि लामिछाने केन्द्रित भएर छानबिन गर्न तयार नभएको बताए । उनले गृहमन्त्री लामिछानेकेन्द्रित छानबिन गर्नुपर्ने आफूहरुको मागमा सहमति नजुटेको कारण कुरा नमिलेको बताए ।
सरकारले गृहमन्त्री लाािमछानेको विषयलाई सामान्यीकरण गरेर छानविन समिति बनाउन खोजेको भन्दै सो कुरा कांग्रेसलाई मान्य नहुने उनले जानकारी दिए ।
प्रतिक्रिया